भदौ, १९ अछाम । शारीरिक परिपक्वता नहुँदै गर्भधारण गर्न उपयुक्त नहुने भएकैले चेतनामूलक नारा ‘बिहेबारी २० वर्ष पारि’ सुनाउने गरिएको छ । तर, अछाममा भने गर्भपतन गराउनेको तथ्यांकले २० वर्षमुनिकै धेरै रहेको देखाएको छ ।
जिल्लामा किशोरीमा गर्भपतन गर्ने प्रवृत्ति बढदै गएको पाइएको छ । जिल्ला अस्पताल अछाम र न्याय हेल्थ बयलपाटा अस्पतालमा गर्भपतनको सेवा दिने स्वास्थ्य संस्थाको तथ्यांकले गर्भपतन गराउने किशोरीहरू बढिरहेको देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा १ हजार ७ सय ६३ जना महिलाले गर्भपतन गराए ।
जसमा, १ सय ५ जना २० वर्षमुनिका थिए । एकै वर्षमा यति धेरै किशोरीले गर्भपतन गराएको तथ्याकंले समाजको डरलाग्दो चित्रण गरेको स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख झनक ढुंगानाले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका परियोजना शाखाका प्रमुख भवानी सिंह कुँवरले चालु वर्षेमा अघिल्लो वर्षको तुलनामा २१ जना बढि किशोरीले गर्भपतन गराएको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष ०७२/७३ मा १ हजार १ सय ४३ जना महिलाले गर्भपतन गरेका थिए । जसमा, ८४ जना २० वर्षमुनिका थिए ।













प्रतिक्रिया