परासी, १४ भदौ । रामग्राम नगरपालिकामा अवस्थित रामग्राम स्तुप र पण्डीतपुर क्षेत्रको विकासका लागि स्वायत्त रामग्राम विकास कोषको स्थापना गर्न स्थानीयले माग गरेका छन् । दुवै स्थान शान्तिका अग्रदुत भगवान गौतम बुद्धसँग सम्बन्धित छन् ।
रामग्राम– ७ मा रहेको रामग्राम स्तुप गौतम बुद्धको सिङगो अस्थिधातु रहेको विश्वकै एकमात्र स्तुप हो भने रामग्राम– १८ मा रहेको पण्डितपुर बुद्धको मावली तथा तत्कालिन कोलिय गणराज्यको राजधानी हो । रामग्राम र पण्डितपुरको विकासको जिम्मेवारी लुम्बिनि विकास कोषलाई छ । तर कोषले नवलपरासीमा रहेका यी दुवै स्थानको विकासका लागि ध्यान नदिएको स्थानीयको गुनासो छ ।
यसैक्रममा रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था उजैनीले रामग्राम र पण्डीतपुर दुवै क्षेत्रको विकास, प्रचारप्रसार, संरक्षण सम्बद्र्धन गर्नका लागि स्वायत्त रामग्राम विकास कोष गठनको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
संस्थाका अध्यक्ष शम्भु उपाध्यायको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जितेन्द्र देवलाई नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मार्फत ज्ञापन पत्र पठाउदैँ सो ध्यानाकर्षण गराएको हो । रामग्राम विकास कोषमा सरकारले चासो नलिएमा चरणवद्ध दवावका कार्यक्रम सञ्चालन गर्ने पनि संस्थाले तयारी गरेको जनाएको छ ।













प्रतिक्रिया