२१ कार्तिक २०८३, शनिबार

बाढी पीडितका लागि सशस्त्र प्रहरीद्वारा स्वास्थ्य शिविर संचालन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । बाढीबाट पीडित नागरिकको स्वास्थ्य उपचारका लागि सशस्त्र प्रहरी बल नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुद्वारा शुक्रबार महोत्तरी, सप्तरी र बाँकेमा स्वास्थ्य शिविर संचालन गरिएको छ ।

महोत्तरी जिल्लास्थित गौशाला नगरपालिकाको भवनमा सशस्त्र प्रहरी बल नेपालद्वारा संचालन गरिएको स्वास्थ्य शिविरमा नेपाल एपीएफ अस्पतालका डा. रोशन झासहित सात जना स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

यसैगरी सप्तरी जिल्लाको तिलाठी कैलाली गाँउपालिका ५ मा संचालन गरिएको स्वास्थ्य शिविरमा नेपाल एपीएफ अस्पतालका डा. मीना कुवँरसहित १० जना स्वास्थ्यकर्मीहरु खटिएका छन् भने बाँके जिल्लाको डुडुवा गाँउपालिका २ वेतहनी स्वास्थ्य चौकीको भवनमा संचालन गरिएको स्वास्थ्य शिविरमा सोही अस्पतालका डा. निसिता पाठकसहित १० जना स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका स्वास्थ्यकर्मीहरुले ती स्वास्थ्य शिविरहरुमा पीडित स्थानीय वासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेका छन् ।

यसअघि बिहिबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका ८ मा नेपाल एपीएफ अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर संचालन गरेका थिए ।

बिहिबार भएको उक्त स्वास्थ्य शिविरमा स्थानीय वासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै ३ सय १९ जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो ।

यसैगरी बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका ६ फत्तेपुर कर्मैया डाँडामा मंगलबार सशस्त्र प्रहरी बल नेपालसहित विभिन्न निकायका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य शिविर संचालन गरी ७ सय ८० जनाको उपचार गर्नुका साथै निःशुल्क औषधी वितरण गरेका छन् ।