२९ आश्विन २०८३, बिहिबार

स्लोभानिया र नर्वे बालबालिकामैत्री मुलुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिउब्लिआना (स्लोभानिया), १९ जेठ । बालअधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ को अध्ययनले बालबालिकाका लागि बसोबास गर्न उत्कृष्ट ठाउँका रुपमा नर्वे र स्लोभानिया देखिएको स्लोभेनियाली प्रेस एजेन्सी (एसटीए) ले बिहीबार जनाएको छ ।

सेभ द चिल्ड्रेनको अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा बुधबार सार्वजनिक प्रतिवेदनले बालबालिकामाथि कम खतरा रहेका मुलुकको सूची प्रकाशित गर्दै उक्त कुरा जनाएको हो ।

प्रतिवेदनमा स्लोभानिया र नर्वेलाई १७२ देशमध्ये सबैभन्दा बालअधिकारका दृष्टिकोणले उत्कृष्ट देशका रुपमा देखाएको छ भने फिनल्यान्ड ती देशलाई पछ्याउँदै दोस्रो स्थानमा देखिएको छ । त्यसैगरी नेदरल्यान्ड तेस्रो र स्वीडेन चौँथो स्थानमा रहेका छन् ।

बालबालिकाको पोषण, शिक्षाको पहुँच, बाल मृत्युदर, बालविवाह, बालश्रम, किशोरावस्थामा गर्भाधारण र क्षेत्रीय द्वन्द्वलाई मुख्य आधार बनाई गरिएको अध्ययनले स्लोभानिया र नर्वेलाई सबैभन्दा सुरक्षित स्थानका रुपमा उल्लेख गरेको हो ।

अध्ययनले पश्चिमी र मध्य अफ्रिकामा बालबालिकाको कहालिलाग्दो अवस्थाबाट जीवन गुज्रिने गरेको बताउँदै नाइजरलाई सूचकाङ्कको सबैभन्दा पछिल्लो स्थानमा देखाएको छ ।

एङ्गोला, माली, मध्य अफ्रिकी गणतन्त्र र सोमालिया क्रमशः नाइजरपछि कम सुरक्षित रहेका देशका रुपमा देखाइएको छ ।

सेभ द चिल्ड्रेनको ‘चोरिएका बालबालिकाको प्रतिवेदन’ मा विश्वमा हरेक चार बालबालिकामध्ये एक अर्थात् कम्तीमा सात करोड बालबालिकाको बालअधिकारबाट कुनै न कुनै रुपमा वञ्चित हुनेगरेकोे जनाइएको छ ।

बालहत्या, कमजोर स्वास्थ्य, सशस्त्र द्वन्द्व, हिंसा, बालविवाह, किशोरावस्थामै गर्भाधारण, कुपोषण र शिक्षाबाट वञ्चित हुनुलाई बालबालिकाको अधिकारबाट वञ्चित गरिएको कारक प्रतिवेदनमा मानिएको छ ।

संस्थाले विश्वका सबै मुलुकलाई बालबालिकाको अधिकारको प्रत्याभूति गराउन पहल गर्न अनुरोध गरेको छ । – सिन्ह्वा