– कृष्ण ओझा
पाँचथर, ३ वैशाख । स्थानीय तहअन्तर्गत जेठ ३१ हुने दोस्रो चरणको निर्वाचनका लागि नेकपा एमालेले पाँचथरमा उम्मेदवार छनोटदेखि चुनावी प्रचार प्रसार अभियानसम्म विभिन्न तयारी थालेको छ ।
यसैक्रममा पाँचथरको याङवरक गाउँपालिकामा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका आकांक्षी धेरै भएपनि सम्भावित उम्मेदवार मैदानमा देखिएका छन् ।
सुत्रहरुका अनुसार गाउँपालिका प्रमुखमा च्याङथापू ८ का निवासी युवा संघ नेपालका केन्द्रीय सदस्य नर बहादुर गुरुङ र उपप्रमुखमा युवा संघ जिल्ला अध्यक्ष बाबा मेन्याङवोको प्रबल सम्भावना रहेको देखिन्छ ।
जन माहोलका आधारमा आकांक्षी मध्ये प्रमुखमा लेखनाथ घिमिरे, सुभाष योङया र उप प्रमुखमा कमला योङयाको चर्चा चलेपनि बढी सम्भावना गुरुङ र मेन्याङवोको देखिएको र टिकट पाउने लगभग सुनिश्चित भइसकेको स्रोतको दाबी छ ।
गाउँपालिका प्रमुख पदका सम्भावित उम्मेदवार गुरुङ झापाबाट ४७ सालदेखि पार्टीमा निरन्तर रहि हाल एमाले जिल्ला कमिटी सदस्य तथा प्रभावशाली युवा नेताका रुपमा परिचित छन् ।
त्यस्तै ताप्लेजुङ जिल्ला सिकैचा गाविसमा जन्म भई पाँचथर नागी गाविसमा ४५ सालमा बसोबास गरेकी प्रभावशाली नेतृ युवा संघ नेपालकी जिल्ला अध्यक्ष बाबा मेन्याङवो पार्टीमा क्रियाशील रहेको पाइन्छ । उनी १७ बर्षको उमेरदेखि निरन्तर सशक्त रुपमा बामपन्थी आन्दोलनमा लाग्दै आएकी छन् ।
एमालेबाट पाँचथरमा मेयर र केहि गाउँपालिकाहरुको प्रमुख र उपप्रमुखको टुंगो लागिसकेको छैन् । जिल्लामा भने सबै राजनीतिक दलका कार्यकर्ताहरु चूनावी अभियानमा तीव्ररुपमा लागेको पाईन्छ ।













प्रतिक्रिया