– मिना बुढाथोकी
सल्यान, ३ जेठ । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणनाको परिणाम मा बुधवारसम्म सल्यानमा ५० वडाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार जिल्लाका १० स्थानीय तहमध्ये जिल्लाका तीन दलले एक एक गाउँपालिकाको प्रमुखमा सफलता हात पारेका छन् । नेपाली कांग्रेसका मान बहादुर डांगीे त्रिवेणी गांपालिकामा विजय हुनु भएको छ । यस्तै, नेकपा एमालेका चित्र बहादुर चलाउनेले ढोरचौर गाउपालिकाको प्रमुखमा सफलता पाउनु भयो भने माओवादी केन्द्रका निम बहादुर केसीले दार्मा गाउपालिकामा विजयको झण्डा गाड्नु भएको छ ।
वडामा एमाले र माओवादीबीच टक्कर, कांग्रेस तेस्रो स्थानमा
यस्तै जिल्लाका कुल ५० वडाको नतिजामा माओवादी केन्द्रले १९ वडामा जित हात पारेको छ । १८ वडामा नेकपा एमाले विजय भएको छ भने १३ वडामा कांग्रेस सफल भएको छ । जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा हालसम्म माओवादी केन्द्र ४ स्थान कुमाखमालिका गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र कालिमाटी गांउपालिकामा अग्रता लिएकोे छ ।
नेकपा एमाले माओवादीलाई पछ्याउदै २ ठांउ कपुरकोट गाउपालिका र छत्रेश्वरी गाउपालिकामा अग्र स्थानमा रहेको छ । यस्तै नेपाली कांग्रेसको शारदा नगरपालिकामा १ स्थानमा अग्रता रहेकोे छ ।
स्थगित भएको शारदा नगरपालिकाको मतगणना अझै शुरु भएन, सर्वपक्षीय बैठक जारी
सल्यानको शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका वडा न. ४ को मतगणना पारदर्शी नभएको भन्दै मंगलबार नेकपा एमाले मतगणना स्थल बाट बाहिरीए पछि मतगणना रोकिएको हो । नेकपा एमालेले शारदा नगरपालिका ४ को मतगणना गर्नेक्रममा अनियमितता भएको भन्दै मुख्य निर्बाचन अधिकृतको कार्यालयमा लिखित उजुरीसमेत दिएको छ । नेकपा एमाले सल्यानका सचिब रमेश कुमार गौतमका अनुसार शारदा नगरपालिका ४ मा नेकपा एमालेले १ सय ८७ मत पाएकोमा मतगणना १ सय ४७ मा काउन्ट गरेको देखिएको र ४० मत गायब भएको छ ।
मतगणनालाई पारदर्शी बनाउनु पर्ने भन्दै नेकपा एमाले संगै माओबादी केन्द्र र राप्रपाले पनि माग गरेका छन् । मतगणनाको विषयलाई निष्पक्ष र पारदर्शी बनाउनु पर्ने भन्दै एमालेले मुख्य निर्वाचन कार्यालयमा निवेदन दिएपछि मंगलवार बेलुका सर्वपक्षिय बैठक शुरु भएको थियो । तर बैठकले कुनै ठोस निर्णय नै नगरेर स्थगित भएको छ । यस विषयमा छलफल गर्न अहिले बिहान ८ बजेदेखी पुनः बैठक बसिरहेको छ ।













प्रतिक्रिया