– शिशिर सिंखडा
चितवन, १ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ८ छेपेढाप र वडा नं. ९ नयाँबजार शक्तिखोर केन्द्रको मतपत्र भिजेको छ । हिजो बैसाख ३१ गते भएको निर्वाचन पछि मतपत्र ढुवानी गर्ने क्रममा सो मतपेटिका सहित मतपत्र साझ परेको पानीको कारण भिजेको हो । सो मतदान केन्द्रबाट कालिका नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृत कार्यालयसम्म मतपत्र ल्याउँदा छेपेढाप केन्द्रको ६ वटा मतपेटिका र नयाँ बजार केन्द्रको ४ वटा मतपेटिका पानीले भिजेको पाइएको थियो ।
सो मतपेटिका ढुवानी गर्ने क्रममा प्रयोग भएको सवारी साधनको छत खुल्ला रहेको र त्रिपाल समेत नओढाई लापारवाहीपूर्ण तवरले मतपेटिका लगेको भन्दै स्थानीय मतदाता आक्रोशित भएका छन् । सो मतपेटिका राती कालिका नगरपालिका कार्यालयमा ल्याई पु¥याएपछि कोल्ट्याउने क्रममा मतपेटिकाबाट एक गिलासभन्दा बढी पानी झारिएको थियो । सो मतपेटिका ल्याउने क्रममा लापारवाही भएको स्वीकार्दै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन अधिकृत नेत्र प्रसाद शर्माले सो मतपत्रको सम्बन्धमा निर्वाचन कार्यालय काठमाडौंमा जानकारी गराएको बताए । सो मतपेटिका जे जस्तो अवस्थामा छ सोही अवस्थामा राखिने समेत उनले बताए ।
सो लापारवाहीको घटना पश्चात स्थानीय राजनीतिक दलले मतपेटिका भण्डारणको सहमति नगरेपछि राती २ बजेसम्मको छलफलबाट दोषी उपर छानविन र कारवाही गर्ने, मतगणनाको क्रममा आवश्यक निर्णय गरी अगाडि बढ्ने लिखित सहमति भएपछि सो मतपेटिका अन्य मतपेटिका भएकै स्थानमा राखिएको थियो । सो कालिका वडा नं. ८ को तीनवटा बुथमा २ हजार १ सय ९० मत खसेको थियो भने वडा नं. ९ को दुईवटा बुथमा १ हजार ६ सय २७ मत खसेको थियो । सो वडामा क्रमशः २ हजार ६ सय ५२ र १ हजार ९ सय ८ मतदाता रहेका थिए ।
कालिका ११ मा भोली मतदान
गत वैसाख २६ गतेको वर्षासंगै परेको चट्याङ्ग लागेर माओवादी केन्द्र तर्फबाट वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएपछि स्थगित भएको सो वडा नं. ११ सिद्धि मजवाङको मतदान भोली जेठ २ गते मंगलबार हुने भएको छ । सो वडामा माओवादी केन्द्रले शुकराम प्रजालाई सदस्यको उम्मेदवार चयन गरेको छ । वडामा ८ सय २० मतदाता रहेका छन् ।
चितवनमा ७६ प्रतिशत मत खस्यो
चितवनमा हिजो भएको निर्वाचनमा ७६ दशमलव ७४ प्रतिशत मत खसेको छ । चितवनका निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए अनुसार भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ मतदात मध्ये १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । त्यस्तै रत्ननगर नगरपालिकामा ४३ हजार १ सय ५४ मतदाता रहेकामा ३४ हजार ६ सय ६५ मत खसेको छ भने खैरहनीमा ३३ हजार २ सय ६३ मध्ये २६ हजार ३ सय ३९, त्यस्तै राप्तीमा २९ हजार ९ सय ९८ मध्ये २३ हजार २ सय ३२, माडीमा २१ हजार ६ सय ७२ मध्ये १६ हजार ३ सय ७१, कालिका नगरपालिकामा २२ हजार ९ सय ८७ मध्ये १० वटा वडामा १७ हजार ८ सय ९७ मत खसेको थियो ।

त्यस्तै इच्छाकामना गाउँपालिकामा ११ हजार ६ सय ५४ मतदाता रहेकोमा ८ हजार ८ सय ९२ मत खसेको छ । कुल ३ लाख १३ हजार २ मतदाता रहेको चितवनमा २ लाख ४० हजार १ सय ८६ मत खसेको ढकालले बताए साथै पूर्वी चितवनको कालिका नगरपालिका बाहेक भरतपुर महानगरपालिका र अन्य नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा मतगणनाको प्रक्रिया थालिएको समेत उनले बताए ।
कालिका नगरपालिकाको वडा नं. ११ का वडा सदस्यको मृत्यु भएकोेले सो वडामा भोली मतदान भएपछि ३ गते बिहानबाट मतगणना शुरु हुने समेत ढकालले बताए ।













प्रतिक्रिया