– मिना बुढाथोकी
सल्यान, ३१ वैशाख । सल्यानका तिन नगरपालिका र सात गाउँपालिकामा गरी १० स्थानिय तहमा मतदान शान्तिपुर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न भएको हो ।
जिल्लाभरी ७२ प्रतिशतको हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो । यो समाचार तयार पार्दा सम्म १९ हजार २४ मतदाता रहेका वागचौर नगरपालिकामा १३ हजार ३ सय ६ मत खसेको छ । यसैगरी ९ हजार ८ सय ५८ मतदाता रहेको कपुरकोट गाउँपालिकामा ७ हजार ३ सय ५४ मत खसेको छ । यस्तै छत्रेश्वरी गाउँपालिकामा रहेका १२ हजार ४ सय २४ मतदाता मध्ये ८ हजार ९ सय १४ मत खसेको छ । अन्य स्थानिय तहबाट खसेको मतको विवरण आउन वाँकी छ । जिल्लामा रहेका १ सय ७५ मतदान केन्द्र मध्ये १ सय ७४ मतदान केन्द्रमा आइतबार मतदान भएको हो ।

जिल्लामा रहेका ८३ वटा वडामा ४ सय ३५ पदका लागी सम्पन्न मतदानमा मतदाताहरुको उत्साहपुर्ण सहभागिता रहेको र कुनै पनि समस्या नरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मतदान केन्द्रमा झोलामा खुकुरी राखेको आरोपमा कुमाख मालिका गाउँपालिका ३ का दिनेश रावतलाई पक्राउ गरीएको जिल्ला प्रहरी प्रमुख डियसपी श्याम बहादुर खत्रीले बताउनुभयो । यस बाहेक जिल्लाका सवै मतदान केन्द्रहरुमा मतदान उत्साहजनक तरिकाले सम्पन्न भएको उहाँले बताउनुभयो । जिल्लाका १० वटा स्थानिय तह मध्ये नौ वटा स्थानिय तहमा मतपेटीका स्थानिय तहको केन्द्रमा प्राप्त भएपछि मतगणनाको काम हुनेछ । जिल्ला निर्वाचन अधिकारी महेश शर्माले मतपेटीका, दलका प्रतिनिधि आउने वित्तिकै मतगणना हुने बताउनुभयो । जिल्लाका धेरै जसो मतदान केन्द्रमा पुरुषको तुलनामा महिला मतदाताहरुले मतदान गरेको देखिएको छ । पुरुषहरु वैदेशिक रोजगारी तथा अन्य कामकाजको सिलसिलामा घरमा नभएकोले महिला सहभागिता बढि देखिएको छ ।
किरिया बसेकाले पनि मतदान गरे
सल्यानको शारदा नगरपालिका १४ मा साविकको गाविस कार्यालयमा रहेको मतदान केन्द्रमा किरिया बसेका हरुले मतदान गरेका छन् । शारदा नगरपालिका १४ ढाँरखानी घर भएका रुद्र बहादुर गिरी, कान्त प्रकाश गिरी, सुरेन्द्र गिरी र गजेन्द्र गिरीले किरीया बसेको बेलामा पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन । उनिहरु एकघण्टा टाढा रहेको मतदान केन्द्रमा खालिखुट्टा हिडेर मतदानमा सहभागि भएका हुन । आमाको निधन पछि किरिया बसेका उनिहरुले लामो समयपछि हुन लागेको स्थानिय तहको निर्वाचनमा मतादाधिकार गुमाउन मन नलागेको बताए ।













प्रतिक्रिया