– रबिना बोहरा
बागलुङ, ३१ बैशाख । बागलुङ जिल्लामा कुल मतदाताको ६८.६७ प्रतिशत मत खसेको छ । जिल्लामा रहका कुल १ लाख ५६ हजार ८ सय ६५ मतदाता मध्य १ लाख ७ हजार ६ सय ९१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी दिनुभयो ।
गल्कोट नगरपालिकामा रहेको २० हजार १ सय १९ मतदाता मध्य १३ हजार ४ सय १७ मत खसेको छ । ढोरपाटन नगरपालिकामा रहेका ११ हजार ९ सय ९० मध्य ८ हजार ५ सय २८ खसेको बताइएको छ ।
यस्तै ताराखोला गाउँपालिकामा ७ हजार २ सय २५ मध्य ५ हजार १ सय ६६ मत, बडिगाड गाउँपालिकामा १७ हजार २ सय २७ मध्य ११ हजार ८ सय ५७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै तमानखोला गाउँपालिकामा ५ हजार ९ सय २८ मा ४ हजार १ सय ९३ मत खसेको छ । काठेखोला गाउँपालिकामा १७ हजार ६ सय ७ जना मतदाता रहेकोमा १२ हजार ७ सय ६० जनाले भोट हालेका छन् । निसिखोला गाउँपालिकामा १२ हजार १ सय ९७ मध्य ८ हजार ३ सय १७ भोट खसेको बताइएको छ । सबैभन्दा कम जैमिनी नगरपालिकामा खसेको र बागलुङ नगरपालिकामा बढि खसेको बताइन्छ ।
विहान ७ बजेबाट देखि सुरु भएको मतदान बेलुका ५ बजे सम्म बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकामा स्थानीय जनप्रतिनिधि चयनका लागि भएको मतदान शान्त, भयरहित वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिनुभयो । जिल्लामा ४ सय ६९ पदमा हुन लागेका निर्वाचनमा १ हजार ३ सय ७६ जना चुनावी मैदानमा उत्रिएका छन् । मतदानका लागि १ सय ३ मतदान स्थल र १ सय ९२ केन्द्र तोकिएको थियो ।
यसैबीच आज भएको मतदानको सोमबार सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी गराउनुभएको छ ।















प्रतिक्रिया