२० कार्तिक २०८३, शुक्रबार

भक्तपुर जिल्लामा कांग्रेसका उम्मेदवारहरु विजयी हुनेमा ढुक्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २८ वैशाख । ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र पर्यटकीय सम्पदाले भरिएको नेपालकै सबैभन्दा सानो जिल्लाको रुपमा चिनिएको भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा नेपाली कांग्रेसको पक्षमा चुनावी लहर देखिएको छ । नेपालमा लोकतन्त्रको स्थापना,संविधान निर्माण,मुलुकको पूर्वाधार विकास र जनताको सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउन नेपाली कांग्रेसले गरेको योगदानको चर्चा गर्दै आफ्नो स्वच्छ छवि, इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता लिएर मतदाताहरुको घरदैलोमा पुगेका नेपाली कांग्रेसक उम्मेदवारहरुले मतदाताहरुबाट न्यानो स्वागत पाएको दावी नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले गरेको छ ।

ऐतिहासिक,सांस्कृतिक,धार्मिक र पुरातात्विक महत्वका स्थानहरुको संरक्षण,पूर्वाधारको विकास, आर्थिक र सामाजिक विकासको कार्यक्रमले हरेक नगरपालिकालाई चिटिक्क पार्ने र नगरवासीलाई छिटो छरितो सेवा दिने कार्यक्रम सहित उत्रिएका नेपाली कांग्रेसका उम्मेदवारहरु आफ्नो विजयमा ढुक्क देखिएका छन् । भक्तपुर कांग्रेसले प्रचार अभियानलाई तीव्र बनाउदै साँझसम्म जारी राख्ने र भोलिबाट मतदान प्रक्रियालाई व्यवस्थित गर्न पार्टी संयन्त्र परिचालन गर्नेेभएको छ ।

भक्तपुर नगरपालिका

नेपाली कांग्रेसले भक्तपुर नगरपालिकामा रामप्रसाद कसुलालाई प्रमुखको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघमा रहदा नै २०४६ सालको जनआन्दोलनको पर्चा बाड्ने क्रममा कसुला प्रहरी हिरासतमा पर्नु भएको थियो । २०४८ मा नेपाली कांग्रेसको साधारण सदस्यता लिई २०५२ सालमा पार्टीको नगर सदस्य, २०५७ सालमा भक्तपुर क्षेत्र नम्बर १ को सचिव र २०६२ मा जिल्ला सदस्य बन्नुभएका कसुला पार्टीको १२ औं महाधिवेशनमा निर्विरोध महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । १३ औं महाधिवेशनका क्रममा पार्टीको नगर सभापति निर्वाचित हुनुभएका कसुलाले स्नातकसम्मको अध्ययन गर्नु भएको छ ।

सामाजिक क्षेत्रको अग्रणी मानिएको नेपाल जेसिसको बिभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका कसुला खेलकूदमा पनि उत्तिकै रुचि राख्नुहुन्छ । भक्तपुर जिल्ला बुद्धिचाल संघको ३ पटक अध्यक्ष र पटक पटक केन्द्रीय सदस्य रहनु भएका कसुलाले वल्र्ड ट्रेड सेन्टरको संस्थापक केन्दीय सहसचिवको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ ।

भक्तपुर नगरको उप–प्रमुखका लागि नेपाली काँग्रेसले गंगालक्ष्मी अवाललाई अघि सारेको छ । नेवि संघबाट राजनीतिमा पदार्पण गर्नुभएकी अवाल पार्टीको १२ औं नगर अधिवेशनबाट नगर कोषाध्यक्ष निर्वाचित हुनुभएको थियो । नेपाल महिला संघ जिल्ला उपसभापति र महाधिवेशन प्रतिनिधि रहनुभएकी अवाल भक्तपुर क्याम्पसको अध्यापक छोडेर राजनीतिमा होमिनुभएको छ ।

महिला आयआर्जन तथा सशक्तिकरणमा समेत लामो समयदेखि संलग्न रहदै आउनुभएकी अवालले कृषि तथा खाद्य सुरक्षा, लैंगिक सशक्तिकरण, नेतृत्व विकास जस्ता कार्यक्रम सञ्चालन गर्नूका साथै नीति निर्माण, कार्यक्रम तर्जुमा, सञ्चालन तथा व्यबस्थापनको क्षेत्रमा एक दशक जति कार्य गरिसक्नुभएको छ । पर्यटन उद्योग र व्यबसायमा करिब दुई दशकदेखि संलग्न रहदै आउनुभएकी गंगालक्ष्मी २०७२ को महाभूकम्प पीडितको उद्धार, स्वास्थ्योपचार, राहत, आवास लगायतका कार्यमा स्वयमसेवीको रुपमा खटिनुभएको थियो । समाजशास्त्र÷मानवशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गर्नुभएकी अवालले पीडितशास्त्र तथा पीडित सहायतामा, तोकिवा विश्वविद्यालय टोक्यो जापानबाट पोष्ट ग्राजुयट गर्नु भएको छ ।

मध्यपुर थिमी नगरपालिका

नेपाली कांग्रेसले मध्यपुर थिमी नगरपालिकामा अष्टकुमार कबेलाई मेयरको उम्मेदवार बनाएको छ । २०४२ सालको सत्याग्रहमा प्रहरी हिरासतमा पर्नु भएका कबे २०४६ सालमा जनआन्दोलको प्रर्चा वितरण गर्नुका साथै चाक्सीबारीमा भएको कांग्रेसको सम्मेलनमा सहभागी हुनु भएको थियो । पार्टीले सञ्चालन गरेका सबै आन्दोलनमा सक्रिय रहदै आउनुभएका कबे यस पूर्व पार्टीको नगर सभापति हुनुहुन्थ्यो । तेह्रौ अधिवेशनमा जिल्ला सभापतिको चुनाव लड्नु भएका कवे दर्जनौ सामाजिक संस्था मार्फत समाजेवामा पनि सक्रिय रहनुभएको छ ।

नेपाली कांग्रेसले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अञ्जना मधिकर्मीलाई उप–प्रमुखको रुपमा अघि सारेको छ । बुबा अनन्तकुमार मधिकर्मीको राजनीतिक संस्कारमा हुर्केकी अञ्जनाले २०३७ सालमा नेवि संघबाट राजनीतिक यात्रा शुभारम्भ गर्नु भएको हो । उहाँ २०४२ सालको सत्याग्रहमा जेठ २३ गते भोटाहिटीको विशेष धर्नाबाट गिरफ्तार भई ९ महिना केन्द्रीय कारागारमा बन्दी बन्नु भएको थियो ।

२०४७ देखि २०५३ सम्म नेपाल शिक्षक संघ काभ्रेको कोषध्यक्ष पदमा रहेर काम गर्नु भएकी मधिकर्मी २०५३ देखि २०६२ सम्म शिक्षक संघको केन्द्रीय प्रतिनिधि हुनुहुन्थ्यो । २०४८ देखि २०५३ सम्म काभ्रेमा महिला संघको उपाध्यक्ष रहकी मधिकर्मी २०६९ र २०७३ मा नेपाल शिक्षक संघ भक्तपुरको सर्वसम्मत महिला उपाध्यक्ष निर्वाचित हुनुभयो । २०६७ मा पार्टीको जिल्ला सदस्य निर्वाचित हुनु भएकी मधिकर्मी पार्टीको शिक्षा विभाग प्रमुख समेत रहनुभएको थियो । भक्तपुर जिल्लाको महिला जागृति तथा आयआर्जन कार्यक्रम जिल्ला समन्वय समितिको अध्यक्ष भएर काम गरिसक्नुभएकी उहाँ समाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ ।

चागुँनारायण नगरपालिका

विश्व सम्पदा सूचिमा रहेको, नेपालको प्राचिन, ऐतिहासिक, धर्म,संस्कृति र कलाको प्रतीकको रुपमा रहेको प्रसिद्ध चाँगुनारायणको मन्दीर समेटिएको भक्तपुरको चागुँनारायण नगरपालिकामा नेपाली कांग्रेसले राजराम खड्कालाई प्रमुखको उम्मेदवार बनाएको छ । खड्का विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय हुनु भएको हो । उहाँले २०४२ सालको सत्याग्रह २०४६ र २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय सहभागीता जनाउनु भएको थियो । उहाँ जिविस सदस्य समेत निर्वाचित हुनु भएको थियो । पार्टीको जिल्ला सदस्य र कोषाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका खड्का हाल पार्टीको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

नेपाली कांग्रेसले चागुँनरायण नगरपालिकामा राधा बानिया सरुलाई उप–प्रमुखको रुपमा अघि सारेको छ । बानियाँ नेवि संघ र महिला संघको राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय हुनु भएको हो । उहाँ २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय सहभागी हुनु भएको थियो । उहाँले राजनीतिका अलवा विभिन्न सामाजिका संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । बानियाँ हाल नेपाल महिला संघको जिल्ला सभापति हुनुहुन्छ ।

सूर्यविनायक नगरपालिका

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसले विष्णुराज कार्कीलाई प्रमुखको उम्मेदवार बनाएको छ । कार्कीले २०३८ सालमा आदर्श मावि सानोठिमीबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गर्नुभएको थियो ।

नेपाल ल क्याम्पसमा स्ववियु सदस्यको उम्मेदवार बन्नुभएका कार्की ०५८ सालमा नेवि संघको जिल्ला सभापति, २०६४ सालमा केन्द्रीय सदस्य र सह–महामन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ भक्तपुर कांग्रेसको जिल्ला सदस्य र सचिव हुँदै हाल महासमिति सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

उहाँका बुबा श्यामबहादुर कार्की र हजुरआमा खिरकुमारी कार्की पनि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । २०५४ सालमा बालकोटबाट जनप्रतिनिधि निर्वाचित उहाँका बुबा २०४८ सालमा पार्टीको क्षेत्रीय सभापति पनि हुनुहुन्थ्यो । प्रजातन्त्र पुनःस्थापनको आन्दालनमा सक्रियता जनाए बापत उहाँकी हजुरआमा खिरकुमारी २०१७ देखि २०२२ सालसम्म जेल पर्नुभएको थियो ।

सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसले कल्पना राजथलालाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । २०३० सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय राजथलाले २०५० सालमा नेपाल महिला संघको जिल्ला कोषाध्यक्ष र पार्टीको क्षेत्रीय सदस्यको जिम्मेवारी पाउँनु भयो । नेपाल महिला संघको जिल्ला अध्यक्ष र ट्रेड युनियन कांग्रेसको महधिवेशन प्रतिनिधि बन्नुभएकी राजथलाले जिल्ला महिला समन्वय समितिको उपाध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालि सक्नुभएको छ ।

आठौं, दशौं र एघारौं महाधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि बन्नुभएकी राजथला पार्टीको ११ औं जिल्ला अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बन्नु भएको थियो । २०५४ को स्थानीय निर्वाचनमा वडा सदस्यमा उम्मेदवार बन्नुभएकी राजथलाका पति ज्ञानकुमार प्रतिवन्धित कालमा बम र बारुद बोकर आन्दोलनमा होमिनु भएको थियो ।