
– मोहन पौडेल
परासी, २६ वैशाख । भगवान गौतम बुद्धको अस्तुधातु रहेको ऐतिहासिक रामग्राम स्तुपमा बुद्धजयन्तीको तयारी पुरा भएको छ । भोलि बुधबार रामग्राम स्तुपमा विविध कार्यक्रमका साथ २५६१ औँ बुद्धजयन्ती भव्यताका साथ मनाईने बुद्धजयन्ती मुल समारोह समितिले जनाएको छ ।
लुम्बिनी विकास कोष अन्तरगत रामग्राम रहे पनि कोषले चासो नदिने गरेका कारण स्थानीय वासीको सक्रियतामा विगत केहि वर्ष देखि रामग्राममा बुद्धजयन्ती मनाईदैँ आएको मुल समारोह समितिका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो । यसवर्ष बुद्धजयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता, बृहत सरसफाई, झाँकी प्रर्दशनी, सास्कृतिक कार्यक्रम, रामग्राम स्तुप परिक्रममा, सम्मान लगायतका कार्यक्रम तय गरिएको उपाध्यायले बताउनुभयो ।
अहिले रामग्राम स्तुपलाई विशेष झकिझकाउ पारिएको छ । यसैविच बुद्धजयन्तीको अवसरमा आज रामग्राम स्तुप र परासीको बुद्धचोकमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । स्थानीय सर्वसाधरण, राजनितिक कर्मि, तथा आयोजक समितिका पदाधिकारी लगायतका सहभागितमा रामग्राम स्तुप क्षेत्रमा सरसफाई गरिएको थियो भने परासी बुद्धचोकमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवालीको अगुवाईमा नगर सरसफाई गरिएको मुल समितिका उपाध्यक्ष सुरेन्द्र राठोरले बताउनुभयो । दुवै स्थानमा म्यादी प्रहरीले सरसफाईमा सहयोग गरेका थिए ।
यस्तै बुद्धजयन्तीकै अवसरमा बुद्धजयन्ती मुल समारोह समिति रामग्रामकै आयोजनामा आजै मावि स्तरिय वक्तृत्वकला प्रतियोगितामा पनि सम्पन्न भएको छ । मायादेवि ईङलिस स्कुल उजैनीमा भएको सो प्रतियोगितामा नगर भित्रका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मुल समारोह समितिका अध्यक्ष शम्भु उपाध्यायको अध्यक्षता तथा रामग्राम नगरपालिकाका पुर्व उपमेयर शिवशंकर रायको प्रमुख आतिथ्य एवँ मायादेवि माविका प्रिन्सीपल दिपनारायण शाहनीको विशेष आतिथ्यमा सो कार्यक्रम भएको मुल समारोह समितिकी उपाध्यक्ष गायत्री आर्चायले बताउनुभयो । रामग्राम स्तुपको विकासमा छुट्टै रामग्राम विकास कोषको आवश्यकता विषयक प्रतियोगिता भएको थियो ।















प्रतिक्रिया