२० कार्तिक २०८३, शुक्रबार

चितवनकै नमुना नगर बनाइनेः उम्मेदवार श्रेष्ठ, गैरीबारीमा युवाहरु एमालेमा प्रवेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

चितवन, २४ वैशाख । कालिका नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार गोपी श्रेष्ठले नेकपा एमालेको विजय पश्चात् कालिका नगरपालिकालाई समृद्ध र समुन्नत नगरपालिका बनाउने बताएका छन् । हाम्रो कालिका, राम्रो कालिका भन्ने मूल नारालाई मध्यनजर गर्दै यस नगरपालिकाभित्र सडक, ढल, बत्ती बिजुली, खानेपानी, सिंचाईको व्यवस्थापन गरी समृद्ध र समुन्नत नगरपालिका बनाई चितवनकै नमूना नगरपालिका बनाउन आफु र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

नेकपा एमालेले यही बैसाख ३१ गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गरेको घरदैलो कार्यक्रम पश्चात् आज कालिका नगरपालिका वडा नं. ८ को गैरीबारीमा आयोजित कोणसभामा बोल्दै उम्मेदवार श्रेष्ठले नगरपालिका भित्र रहेका पुर्जा विहिनलाई आफु विजयी भएको ६ महिना भित्रमा प्रक्रिया अगाडि बढाई जग्गाधनी पुर्जा दिने काम गर्ने बताए । यस नगरपालिकामा करिब ५० प्रतिसत मतदाता पुर्जा विहिन रहेको भन्दै सिद्धि, शक्तिखोर, पदमपुर र जुटपानी क्षेत्रका पुर्जा विहिन, सुकुम्वासीहरुलाई नेकपा एमालेले पुर्जा वितरण संगै आयमुलक तथा रोजगार प्रवद्र्धन कार्य समेत अगाडि बढाउने बताए । कालिका नगरपालिकालाई नमुना नगरपालिका बनाई “एक घर, एक रोजगार” अभियानलाई चरितार्थ पार्ने समेत बताए । नेकपा एमालेले नगरको सर्वाङ्गिण विकासको लागि गुरुयोजना तयार गरेको बताउँदै ५ वर्षभित्र चितवनकै नमुना नगरपालिका बनाउन आफु लागिपरेको बताए । नगर भित्र शिक्षा, स्वास्थ्य, रोजगारीको प्रत्याभूति दिलाउन सोही गुरुयोजना अनुसार नेकपा एमाले अगाडि बढेकोले नेकपा एमालेलाई मतदान गर्न समेत उनले आग्रह गरे ।

उपमेयरकी उम्मेदवार भट्टराईको प्रतिबद्धता–

कार्यक्रममा उपमेयरकी उम्मेदवार कमला भट्टराईले महिला, बालबालिकाको हक अधिकार सुनिश्चित गरी वृद्धवृद्धा भत्ता वितरणलाई समेत सहज बनाउने बताईन् । नगरभित्रका सबै सडकहरुको स्तरोन्नती गर्ने, खानेपानी, सिंचाई, ढल निर्माण गरी ५ वर्ष भित्र समृद्ध कालिका निर्माण गर्ने समेत उनले बताईन् । पहाडी क्षेत्र सिद्धि र शक्तिखोरलाई पर्यटकीय क्षेत्र, चेपाङ पैदल मार्गको रुपमा विकास गर्ने, पदमपुर र जुटपानीलाई कृषिको आधुनिक खेती प्रणालीमा लैजाने र शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रलाई चाडो भन्दा चाडो निर्माण गर्ने वातावरण तयार गरी नगरभित्रका सबै घरधुरीबाट रोजगारी ग्यारेन्टी गर्न समेत आफु प्रतिवद्ध रहेको बताईन् ।

१५ जना एमालेमा प्रवेश–

सो कोणसभामा माओवादी केन्द्र परित्याग गरी ८ जना र नेपाली कांग्रेस परित्याग गरी ७ जना नेकपा एमालेमा प्रवेश गरेका थिए । मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरकी उम्मेदवार कमला भट्टराई, वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार इम प्रसाद अधिकारी लगायतका सदस्यका उम्मेदवार तथा कार्यकर्ताहरुले आजै न्यूरेनी, देवीटार, गैरीबारीचोक, छेपेढाप, कालिका लगायतका क्षेत्रमा घरदैलो, मतदाता भेटघाट तथा कोणसभा गरेका थिए । त्यस्तैगरी नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरु वडा नं. १ का राजु राई, वडा नंं २ का सोम बहादुर गुरुङ्ग, वडा नं. ३ का टिकाराज रिजाल, वडा नं. ४ का आशाराम चौधरी, वडा नं. ५ का रुदल महतो, वडा नं. ६ का बिनोद रेग्मी, वडा नं. ७ का डिल्ली प्रसाद दवाडी, वडा नं. ९ का लेख बहादुर थापा, वडा नं. १० का मंगल सिं प्रजा र वडा नं. ११ का वडा अध्यक्षका उम्मेदवार कृष्ण बहादुर प्रजा लगायत वडा सदस्यका उम्मेदवारहरु र एमाले कार्यकर्ताहरुले आ–आफ्नो वडामा घरदैलो तथा मतदाता भेटघाट गरेका थिए ।