काठमाडौं, २२ वैशाख । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएका पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई बैशाख २२ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैशाख २१ गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा संगठनले रिक्त पदहरुमा यथाशिघ्र पूर्ती गर्दै जाने नीति लिएको उल्लेख गर्नुहुँदै राष्ट्र, नागरिक र संगठनप्रति पुर्याएको योगदान र मेहनतको कदर स्वरुप यस्ता अवसर प्राप्त हुने चर्चा गर्नुभयो ।
उहाँले संगठनको उन्नती प्रगतिको लागि सामुहिक प्रयास र भावनाको खाँचो रहने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा भाइचारा, आपसी सद्भाव, सहकार्य र समन्वयात्मक ढंगबाट अगाडी बढ्दै सकारात्मक सोचकासाथ इमान्दारीपूर्वक प्राप्त जिम्मेवारीलाई पुरा गर्न निर्देशन दिनुभयो ।
निर्वाचनमा सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बलले आफ्नो तर्फबाट उत्कृष्ट योगदान पुर्याउने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले निर्वाचन सुरक्षामा व्यावसायिक ढंगबाट सकृयताकासाथ कटिबद्ध रहन सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।
उहाँले निर्वाचन सुरक्षाको लागि मुलुकका विभिन्न ठाउँहरुमा सशस्त्र प्रहरी बल परिचालित रहने चर्चा गर्नुहुँदै सामान्यदेखि संवेदनशिल तथा अति संवेदनशिल क्षेत्रहरुमा सशस्त्र प्रहरी बलको टोली तैनाथी रहने उल्लेख गर्नुभयो ।
देशको विभिन्न ठाउँबाट सशस्त्र प्रहरी परिचालनको लागि माग हुनुले संगठनको शिर उच्च भएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले संगठनले हासिल गरेको यस्ता सफलता र उपलब्धीहरुलाई कायम राख्दै आगामी दिनमा अझै व्यावसायिक ढंगबाट दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।
सो समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठ लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा र शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया