काठमाडौं, १७ वैशाख । साझा पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्र आबद्ध सांसदद्वारा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिनु लोकतन्त्रकै उपहास भएको टिप्पणी गरेको छ ।
‘न्यायालयको स्वतन्त्रता लोकतन्त्रिक पद्धतिको आधारशिला हो। न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरी प्रतिशोधात्मक रुपमा महाअभियोग लगाउनु लोकतन्त्र, संविधानवाद, विधिको शासन, शक्ति पृथकीकरण र नागरिक अधिकारलाई नै खतरामा पार्नु हो,’ साझा पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आफ्नो निहित स्वार्थ पूर्तिका लागि महाअभियोगसम्बन्धी संवैधानिक व्यवस्था दुरुपयोग गरिनु दुर्भाग्यपूर्ण घटना भएको विज्ञप्तिमा उल्लेख छ । लोकतन्त्रका आधारशीलाहरु भत्काउने कार्यले अन्ततः देशलाई प्रतिगमनको दिशामा डोर्याउँछ भन्दै यस्तो कार्यको सम्पूर्ण नागरिक समाज र सर्वसाधारणबाट पनि घोर भत्सर्ना हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘न्यायापालिकाको स्वतन्त्रता र गरिमालाई अक्ष्क्षुण राख्न महाअभियोगको प्रस्ताव तत्काल फिर्ता लिन साझा पार्टी आग्रह गर्दछ। यस्तो कार्यबाट लोकतन्त्र न त संस्थागत हुन सक्छ न त त्यसले देशलाई स्थिरता र विकासको बाटोमा नै अगाडि बढाउन सक्छ,’ विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया