२० कार्तिक २०८३, शुक्रबार

जेसिजको महाधिवेशन भैरहवामा, १५ दिन अगाडि नै दर्ता गर्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १७ वैशाख । नेपाल जेसिजको ४४ औँ महाधिवेशनको तयारी तीव्र गतिमा भैरहेको छ । जेसिआई सिद्धार्थको आतिथ्यतामा भैरहवामा हुन लागेको महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्दै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश अधिकारीले भैरहवा महाधिवेशन उत्पादनमूलक हुने विश्वास व्यक्त गरे ।

महाधिवेशनको आतिथ्यता गर्न गैरहेको जेसिआई सिद्धार्थ नेपाल र जेसिआई सिद्धार्थ लेडी नेपालको संयुक्त आयोजनामा आइतबार बिहान भैरहवामा सम्पन्न छलफलमा अध्यक्ष अधिकारीले भने, “जेसिआई सिद्धार्थ लामो इतिहास भएको शाखा हो । आसन्न ४४ औँ अधिवेशन सबै ढंगले सफल हुनेमा हामी विश्वस्त छौँ ।”

उनले विगतका महाधिवेशन लथालिङ्ग हुनुको मुख्य कारण समयमै रजिष्ट्रेशन नहुनुले भएको तर्क गर्दै आसन्न महाधिवेशनको मिति भन्दा १५ दिन अगाडि सहभागीहरुको दर्ता सबै शाखाहरुले गर्नुपर्ने गरी नेपाल जेसिजले तयारी थालेको जनाए ।

वैशाख २३ गते सौराहामा बस्ने नेपाल जेसिजको बोर्ड मिटिङले महाधिवेशनको मिति तय गर्ने भएको हुँदा आतिथ्यता गर्ने जेसिआई सिद्धार्थले महाधिवेशनको मिति सबैको अनुकूल मिलाएर प्रस्ताव गर्न समेत अध्यक्ष अधिकारीले निर्देशन दिए ।

जेसिआई सिद्धार्थका अध्यक्ष सुमन शर्मा र जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष मञ्जु शर्माको संयुक्त सभापतित्वमा सम्पन्न भएको उक्त छलफलमा अध्यक्ष अधिकारीले भैरहवामा हुन गइरहेको महाधिवेशनले यस क्षेत्रको पर्यटन, उद्योग, व्यापारलाई पनि चलायमान बनाउनेमा विश्वास व्यक्त गरे ।

नेपाल जेसिजको महेन्द्रनगरमा सम्पन्न ४२ औँ वार्षिक साधारणसभाले जेसिआई सिद्धार्थले ४४ औँ महाधिवेशनको लागि पेश गरेको प्रस्तावलाई स्वीकृत गरे अनुसार जेसिआई सिद्धार्थले महाधिवेशनको लागि तयारी थालेको हो । जेसिआई सिद्धार्थले शाखाका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठलाई महाधिवेशन निर्देशक चयन गरी महाधिवेशनको तयारीलाई तीव्रता दिएको हो ।

राष्ट्रिय अध्यक्ष अधिकारी सहित राष्ट्रिय कार्यकारी उपाध्यक्षद्वय श्रीधर बस्याल र विनोद सुवेदी, उपाध्यक्षद्वय राजु पौडेल र भीम प्रसाद अधिकारी, मिडिया कोअर्डिनेटर दिपेन्द्र तिमिल्सिनाको टोलीले जेसिआई सिद्धार्थ र जेसिआई सिद्धार्थ लेडी नेपालका शाखाका पदाधिकारी तथा सदस्य पूर्व अध्यक्षहरुसँग महाधिवेशनको तयारी सम्बन्धमा जानकारी लिएको शाखाका महासचिव राकेश गुरुङले जानकारी दिए ।

छलफलमा आसन्न ४४ औँ महाधिवेशनका निर्देशक महेन्द्रकुमार श्रेष्ठ, जेसिआई सिद्धार्थका निवर्तमान अध्यक्ष लेखनाथ भट्टराई, पुर्व अध्यक्षहरु शुशील गुरुङ, सञ्जीव शर्मा रेग्मी, साजन जङ्ग राणा, दिपेन्द्र नारायण श्रेष्ठ, निरज नारायण श्रेष्ठ, देवराज न्यौपाने लगायतले जेसीआइ सिद्धार्थको आतिथ्यतामा हुन लागेको महाधिवेसनलाई सफल पार्न कुनै कसुर नराख्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम राकेश गुरुंग र पार्वती पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।