चन्द्रौटा (कपिलवस्तु), १५ बैशाख । के तपाईं आफ्नो सवारीको ट्रलीमा ढाला गाँसेर चलाउने गर्नुभएको छ ? ओभरलोड गरी बढी रकम कमाउने आशा देख्नुभएको छ भने अहिले नै सतर्क हुनुस् है । ट्राफिक प्रहरीको फन्दामा पर्नुभयो भने उल्टै जरिवानामा पर्नुहोला ।
ट्रलीमा ढाला गाँसेर ओभरलोड बोक्ने गरेको जनगुनासोसँगै यतिबेला जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले विशेष निगरानी अघि बढाएको छ । ट्राफिकले संचालन गरेको विशेष अभियानका क्रम नयाँ वर्ष २०७४ सँगै बैशाखको दुई सातामा विभिन्न प्रकृतिका ६सय ४० सवारी कारवाहीमा परेका छन् । जसबाट ४ लाख ६४ हजार राजस्व उठाउन सफल भएको ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो । ट्राफिक प्रहरी प्रमुख कार्कीका अनुसार औसतमा दैनिक ४÷५ वटा सवारी कारवाहीमा पर्ने गरेका छन् ।
विशेषगरी ट्रेक्टर र टिप्परमा ३ इन्चसम्म ढाला गाँसेर अस्वस्थ प्रतिष्पर्धा गर्दै ओभरलोड बोक्ने गरेकाले विशेष अभियानसँगै कारवाही प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । ढाला गाँसेर माल बोक्दा साधारण ट्रली सवारीका सवारीधनी मर्कामा परेको जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले विशेष अभियान संचालन गरेको हो । जिल्लाको पश्चिमी क्षेत्रको सुरही खोलाबाट नदीजन्य पदार्थ बोक्ने ट्रेक्टर तथा टिप्परले ढाला गाँसेर ओभरलोड बोक्ने गरेकाले ट्राफिक प्रहरी प्रमुखसहितको टोली पश्चिमी भेगमा विशेष निगरानी बढाउँदै आएको छ ।
ट्राफिक नियम संचालित सवारीलाई जरिवाना मात्र काट्दा समस्यामा कुनै कमी नआएकाले कडा कदम चालिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । अहिले ढाला गाँसिएका सवारीलाई वडा प्रहरी कार्यालयमा ल्याई गाँसेको ढाला काट्ने अभियान नै संचालनमा ल्याएको उहाँले बताउनुभयो । यस किसिमको कारबाहीमा एक सातामा ५० बढी टे«ेक्टर परेको उहाँले जनाउनुभयो । यसका साथै स्पष्ट नम्बरप्लेट नभएका सवारीलाई रोकेर नम्बर लेखाउने काम समेत अघि बढाइएको उहाँले बताउनुभयो । शुरुमा नम्बरप्लेट लेखाउन र ढाला काट्न अनुरोध ग¥यौं तर अटेरी गरेपछि यस किसिमको अभियान संचालन गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । उहाँले ट्राफिक नियम उलंघन गरेका सवारीलाई जरिवाना काटेर मात्र छाड्ने गरेको बताउनुभयो ।
ट्राफिक नियम उलंघन गरी सवारी चलाउँदा सवारी दुर्घटना समेत बढेको भन्दै कडा कदम चालिएको कार्कीको भनाई छ । ट्राफिकले चलाएको अभियानसँगै यतिबेला जिल्लाका सवारीधनीमा सकारात्मक प्रभाव परेको छ । सवारीधनीहरु कारबाहीमा पर्ने डरले अहिले अधिकांश सवारीधनी आफैंले गाँसिएका ढाला काटेर फाल्ने गरेको बताएका छन् । “ट्राफिकको कडाईसँगै सबैले ढाला काट्न थालेपछि मैले पनि आफ्नो ट्रेक्टरमा गाँसेको ढाला कटाएर फालें”, शिवपुरका एक ट्रेक्टरधनीले बताउनुभयो । ट्राफिकको अभियानसँगै अहिले जिल्लामा ओभरलोडको समस्यामा केही कमी आएको ट्राफिक प्रहरीको दाबी छ । यसअघि ट्राफिकले ३इन्चको ढाला गाँसेर धमाधम ओभरलोड बोक्ने टिप्परलाई कारवाही गरेको थियो । अहिले टे«ेक्टरलाई लक्षित गरी अभियान संचालन गरेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
यसका साथै ट्राफिकले सवारीमा पराल, भुल जस्ता बस्तु बोकेर मुख्य राजमार्गमा दिउँसै ढुवानी गर्न रोक लगाएको छ । साँगुरो बाटो र सवारी चापले दुर्घटनाको सम्भावनालाई कम गर्न र वातावरणीय प्रदुषण रोक्न भुस र पराल जस्ता सामग्री दिउँसोको समयमा बोक्न रोक लगाएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । सवारीधनी र ट्राफिकको सहमति अनुसार अहिले यस किसिमका सामान बोकेका सवारी मध्यरातमा मात्र जिल्ला पार गराउने गरेका छन् ।
यसैगरी पानी चुहाउँदै नदीजन्य पदार्थ बोक्ने सवारीलाई समेत सडकमा हिँड्न ट्राफिकले रोक लगाएको छ । पानी चुहाउँदै सडकमा सवारी गुडाउँदा सडकको आयु घट्नुका साथै दुर्घटनाको सम्भावना बढेकाले यस्ता सामान ढुवानीमा कडाई गरेको ट्राफिकले जनाएको छ । पानी चुहाउँदै सडकमा गुड्न सवारीलाई बीचैमा रोकेर पानी सुकाएर मात्र अघि बढ्न दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभएको छ । ट्राफिकको अभियानसँगै अहिले सवारीधनी समेत सचेत भएका छन् । कारबाहीमा पर्ने डरले अहिले सवारीधनी ट्राफिक नियमको अनुसरण गर्न थालेको बताइएको छ । यसका साथै ट्राफिकले प्रमाणबिना सवारी चलाउने, मापसे, ओभरलोड, असीमिति गति, ट्राफिक नियमको उलंघन गर्ने सवारीलाई कारवाही गर्ने अभियान संचालन गर्दै आएको छ ।













प्रतिक्रिया