२० कार्तिक २०८३, शुक्रबार

भेटी चन्दाको भरमा पाल्ही भगवति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

परासी, १४ वैशाख । पाल्ही भगवति नेपालका विभिन्न शक्तिपीठहरु मध्ये एक महत्वपुर्ण धार्मिक स्थल हो । मनमा जे इच्छा राख्यो त्यो पुरा हने जनविश्वास रहेको पाल्ही भगवति कोट्की कालीको दर्शन गर्न नेपालका मात्रै नभएर विदेशबाट पनि भक्तालुहरु आउने गर्दछन् ।

पाल्ही भगवति मन्दिर नामले जत्ति चर्चा छ, श्रदा र विश्वासले त्यत्ति नै आस्थाको केन्द्र बनिरहेको छ । तर मुलुकका बहुसंख्यक हिन्दूहरुले पुजापाठ गर्ने उक्त मन्दिरको योजनाबद्ध आम्दानी नहुँदा, भनेजस्तो व्यवस्थापन हुन सकेको छैन ।

मन्दिरको मुख्य आम्दानी भनेकै चन्दा भेटी भएको पुजारी बेदब्यास पाठक बताउंछन् । पुजारी पाठकले भने– “मन्दिरको मुख्य आम्दानी नै दान, अनुदान, चन्दा भेटी नै हो ।”

पाठकका अनुसार करिब ३ दशक अगाडी मन्दिरको ४ विगाह गुठी बापतको जग्गा रहेको थियो पछि गण्डक नहर बनाउने क्रममा अधिग्रहणमा परेपछि सो जग्गा पनि गुम्यो । अहिले मन्दिरको नाममा कतैपनि जग्गा छैन । सार्वजनिक प्रयोजन र जनताको प्रयोगकोलागी बनाइएको गण्डक नहर निर्माण क्रममा अधिकरण भएको मन्दिरको जग्गा बराबरकोे जग्गा अन्य ठाऊमा व्यवस्थापन गरिदिएमा मन्दिर सञ्चालनमा सहयोग पुग्ने उनको धारणा छ ।

जिल्ला विकास समिती, गाविसले सहयोग अनुदान दिएपनि त्यो त्यत्ति प्रायाप्त नभएको देखिएको छ । यद्यपी मन्दिरको मुल व्यवस्थापन समितीको अध्यक्ष तथा मूल पुजारी देवेन्द्रराज कडेंल भएको हुँदा मन्दिर सन्चालनमा खासै ठूलो समस्या नपरेको पुजारी पाठक बताउंछन् ।

पुर्वमन्त्री समेत रहेका कडेंलको प्रयासमा उक्त मन्दिरको खर्चपर्चको चाजोंपाजोंको व्यवस्थापन हुदैं आएको छ । हरेक दिन विहान ५ बजेदेखी ८ बजे सम्म खुल्ने उक्त मन्दिरमा गई श्रदापुर्वक आफ्नो इच्छा आंकांक्षा व्यक्त गरेमा त्यो पुरा भएरै छाड्ने जनविश्वास छ ।

चैत्र र आश्विन रामनवमीका दिन विशेष पुजापाठ हुने उक्त मन्दिर परासी बजारदेखी ९ किलोमिटर दक्षिण पाल्ही गाउमा पर्दछ । उक्त मन्दिरमा पन्चबली पनि चढाउने प्रचलन छ । ५० जना एकै साथ बस्न मिल्ने क्षमता भएका ४ वटा धर्मसाला र २ सय जना अट्ने हल भएको उक्त मन्दिरको क्षेत्रफल अढाइ विगाह रहेको छ । मन्दिरमा दैनिक ५ सयको हाराहारीमा भक्तजनहरु आउनेजाने गर्दछन् ।

आम्दानीको व्यवस्थीत स्रोत नहुदां मन्दिरको रंगरोगन देखी लिएर मर्मत सम्भारको काम समेत प्रभावित भएको देखिएको छ ।