– रबिना बोहरा
बागलुङ, १३ बैशाख । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको दशौँ स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न हस्तान्तरण गरिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ निर्णयघाटमा रहेको रामानुज आश्रममा रहेका बृद्धा आमाहरुलाई संघले खाद्यन्न हस्तान्तरण गरेको हो । संघले बैशाख १३ गतेका दिन आमा औँशी पनि परेकाले आश्रममा गएर बृद्धा आमाहरुलाई चामल, नुन, तेल, आटा लगायतका सामाग्री प्रदान गरेको जनाएको छ ।
संघका अध्यक्ष दिपक गौतमले जन्म दिने आमा बुवालाई सदैव सम्मान गर्नुपर्ने भन्दै आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने बताउनुभयो । राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसीले आश्रममा रहेका बृद्धाहरु संघले गरेको सहयोग स्रहानिय रहेको भन्दै ज्येष्ठ नागरिकलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय पश्चिमी संस्कृती बढ्दै गएकाले बृद्ध आमा बुवालाई आश्रममा राख्ने प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा संघका सचिव तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्तप्रसाद कँडेल, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, संघका सञ्चालक दिपेन्द्र बास्कोटा लगायले बृद्धा आमाहरुलाई आमा औँशीको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा आश्रमका पवित्रा पुरुषोतम दिदिले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । जिल्लाका सबै सहकारी संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको जिल्ला सहकारी संघ लिमिटेड बागलुङ २०६५ बैशाख १३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भएको थियो ।संघमा हाल बागलुङ जिल्लामा दर्ता भई क्रियाशिल रहेका १ सय २० सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् । संघले ३० लाख रुपैया पूँजि रहेको संघले जनाएको छ ।













प्रतिक्रिया