चितवन, १२ बैशाख । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले कालिका नगरपालिका नगर आयोजक कमिटीको आयोजनामा आज मंगलबार खोलेसिमलमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।
कालिका नगरपालिकाका ११ वटै वडाका कार्यकर्ताहरुको सहभागी रहेको कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार गोपी श्रेष्ठले शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्ने पार्टी नेकपा एमाले भएकोले एमालेलाई मतदान गर्न आग्रह गरेका थिए । कालिका नगरलाई समुन्नत बनाउन वृहत गुरुयोजनाका साथ एमाले अगाडि बढेको समेत उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका नगर इञ्चार्ज जयचन्द्र प्रसाद चौधरी, उपमेयरका उम्मेदवार कमला भट्टराई, जिल्ला सचिवालय सदस्य एवम् वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार बिनोद रेग्मी, युवा तथा खेलकुद विभागका सदस्य दिपक लामिछाने, जिल्ला कमिटी सदस्य गोपालजी गुप्ता, नगर सदस्य लक्ष्मीनारायण चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नगर संयोजक भिष्म प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा नगर सदस्य कविता लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा गोपालजी गुप्ताको संयोजकत्वमा ५ सय १ सदस्यीय प्रचार प्रसार समिति, जयचन्द्र प्रसाद चौधरीको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन परिचालन समिति, दिपक लामिछानेको संयोजकत्वमा ७ सदस्यीय घोषणा पत्र मस्यौदा समिति त्यस्तै गरी आर्थिक समिति र स्वयम्सेवक परिचालन समिति समेत गठन गरिएको थियो ।













प्रतिक्रिया