भोजपुर, ११ बैशाख । सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने भनेर घोषणा गरेपछि अहिले स्थानीय स्तरमा चुनावी चहलपहल सुरु भएको छ । यसै बीचमा दुई चरणमा स्थानीय गर्ने गरि प्रदेश नम्बर १ ,२, ५ र जेठ ३१ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारले एक नम्बर प्रदेशमा जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गर्ने मिति घोषण गरेपनि राजनीतिक दलहरुले स्थानीय तहमा उमेद्वार बन्नेको नाम भटाभट सिफारिस गर्न थालेका छन् ।
सात गाउँपालिका र दुइवटा नगरपालिका रहेको भोजपुरमा स्थानीय सरकारको प्रमुखका लागि नेपाली कांग्रेस , एमाले र माओवादीले नाम सिफारिस गर्न थालेका हुन् ।
त्यो मध्येको नेपाली कांग्रेसको गढ भनिएको अरुण गाउँपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसले भोजपुर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र कार्कीलाई सिफारिस गरेको छ भने षडानन्द नगरपालिकाको प्रमुखमा कांग्रेसका स्थानीय स्तरका प्रभावशाली नेता वीरवल राईलाई सिफारिस गरेको छ । त्यस्तै अरुण गाउँपालिकाको उपप्रमुखमा बीनिता ढकाल र षडानन्द नगरपालिकाको उपमेयरमा सीता श्रेष्ठको नाम सिफारिस भएको छ । एमालेबाट अरुण गाउँपालिकाको प्रमुखमा शिवराज सापकोटाको नाम सिफारिस भएको छ । स्थानीय सरकारको नेतृत्व गर्नका लागि भन्दै सापकोटाले शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् । त्यस्तै माओवादी केन्द्रबाट अरुण गाउँपालिकाको प्रमुखमा बिमल खड्काको नाम सिफारिस भएको छ ।
त्यसैगरि काँग्रेसले अन्य गाउँपालिकाको पनि नाम टुंगो लगाएको छ । उसले रामप्रसाद राई गाउँपालिकामा दिनेश कार्की , आमचोक गाउँपालिकामा रबिन राई, ट्याम्के मैयुम गाउँपालिकामा सरोज बस्नेत, पौवादुङ्मा गाउँपालिकामा शिशिरा राई,साल्पा सिलिछोमा महेश राईको नाम सिफारिस गरेको छ । तर भोजपुर नगरपालिकामा मेयरका आकांशी धेरै भएपछि केन्द्रमा सबैको नाम पठाउने तयारी भएको नेपाली कांग्रेस भोजपुरले बताएको छ । भोजपुर नगरपालिकाको मेयरमा पूर्व सभापति बालकृष्ण थापा, कैलाश आले लगायतले दावी गरेका छन् । अरुण गाउँपालिका बाहेक अन्य गाउँपालिका र नगरपालिकामा भने एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले उमेद्वारको नाम टुंगो लगाइसकेका छैनन् ।












प्रतिक्रिया