– आकाश देबकोटा
बाँके, ८ वैशाख । पछिल्लो समय गाविसहरु धमाधम खुला दिशामुक्त घोषणा हुने लहर चलिरहेका बेला साविकको डुडुवा गाउँपालिकाको वडा नं. ३ पनि घोषणाको अन्तिम चरणमा पुगेको छ । बनकट्टीको ९५ प्रतिशत घरहरुमा शौचालय र सरसफाइको पहँुच पुगेपछि बनकट्टी घोषणाको अन्तिम चरणमा पुगेको हो । खुला दिशामुक्त घोषणाको तयारीका लागि अनुगमन गर्न जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले शुक्रबार बनकट्टीमा अनुगमन गरेको हो ।
स्थानीय नागरिकहरुले आफुहरुको घरहरुमा शौचालय भएको भन्दै अब घोषणा गर्नुपर्ने बताएका छन् । स्थानीयहरुले विगतको तुलानामा पछिल्लो समयमा घरमात्रै नभएर गाविस नै सफा र सुन्दर भएको दावी गरेका छन् । खुला स्थानमा शौच गर्ने स्थानीयहरुले आफ्नो घरघरमा शौचालय बनाइ सौच गर्ने गरेको अनुगमन टोलीमा सहभागि शरद पौडेलले बताए ।
उनले भने, ‘सरसफाईको काम करिब पुरा भएको छ । अबको केहीदिनमै बनकट्टी खुला दिशामुक्त घोषणा हुनेछ ।’ स्थानीयहरु सरसफाइको क्षेत्रमा सक्रीय भएर लागेका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुले पनि ऋण गरेरै भए पनि शौचालय बनाई घोषणा अभियानलाई साथ दिइरहेको वडा सचिव नन्दकिशोर मिश्रले जानकारी दिए ।
अनुगमन टोलीले डुडुवा गाउँपालिका वडा नं. ३ मा रहेका घरधुरीमै पुगेर सौचालयको प्रयोग भए नभएको अनुगमन गरेको थियो । उक्त वडाका करिब आधा दर्जन घरधुरी सौचालय निर्माणको क्रममा रहेको र उनीहरुलाई पाँच दिनभित्र कार्य सम्पन्न गर्न सुझाएको छ । उक्त घरधुरीले सौचालय पूर्णरुपमा निर्माण गरिसकेपछि घोषणाको मिति तय गरिने जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।
अनुगमन टोलीमा खानेपानी तथा सरसफाई डिभिजन प्रमूख राजकुमार चौधरी, जिल्ला समन्वय समिति बाँकेका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका सरोज शाह, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव काशीराम शर्मा, बाँके युनेस्को क्लव अनुप बर्मा, प्लान नेपालका वास कार्यक्रम संयोजक केशव सुवेदी, गेरुवा ग्रामीण जागरण संघ अध्यक्ष कृष्णजंग शाह, टिम लिडर गणेश कार्की, कार्यक्रम अधिकृत रामरुप कौशल लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया