बाँके, ५ बैशाख । पश्चिम नेपालको ठूलो उपमहानगरपालिका नेपालगन्ज र कोहलपुर नगरपालिकासंगै बाँकेका सबै गाउँपालिकाहरुमा चुनावी चहलपहल बढेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका सबै राजनीतिक दलहरु यतिबेला गाउँपालिकामा केन्द्रीत हुन थालेका छन् । चुनावी परिणाम आफनो पक्षमा पार्न ठूला तीन दलमात्र नभई साना दलहरु पनि चुनावी माहोलमै व्यस्त देखिन थालेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा ६२ हजार ३ सय ९६ जना मतदाता रहेका छन् भने कोहलपुरका नगरपालिकामा ३७ हजार ३ सय २३ जना मतदाता रहेका छन् ।
बैजनाथ गाउँपालिका
बैजनाथ गाउँपालिकामा चुनावी सरगर्मी सुरु भइसकेको छ । गाउँपालिकाको अध्यक्षका लागि एमालेबाट मात्रै एक दर्जन बढी दाबेदार देखिएका छन् । बैजनाथ गाउँपालिकामा थारू समुदायको बाहुल्य छ । बैजनाथ गाउँपालिका अन्तर्गत टिटिहिरिया, वनकटवा, नौवस्ता, चिसापानी छन् ।
गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसबाट महाधिवेशन प्रतिनिधि देवबहादुर केसी, महाधिवेशन प्रतिनिधि चन्तराम थारू, पूर्वजिल्ला सदस्य देवबहादुर केसी, चिसापानीका प्रकाश शाह, नौवस्ताका केशव शाह र दुर्गाबहादुर घिमिरे, वनकटवाका सभापति गगनबहादुर खत्री, केशव शाहलगायतको नाम चर्चामा छ । त्यस्तै, एमालेका जिल्ला सचिवालय सदस्य चन्द्रबहादुर चौधरी, पुराना नेता नन्द विश्वकर्मा, ४ नम्बर क्षेत्रीय अध्यक्ष घननाथ खनाल, व्यवसायी पुनितविक्रम शाह, मनकुमारी चन्द, मानबहादुर रुचाल, मानबहादुर खत्री, भगवती शाह, माधव शाही, प्रेम खत्री, भद्रबहादुर बस्नेत, रामविलास थारूलगायतको नाम चर्चामा छ ।
माओवादी केन्द्रका तर्फबाट गाउँपालिका पार्टी अध्यक्ष देवबहादुर रावत, सचिव राजमोहन चौधरी, रामबहादुर थारू, कृष्णबहादुर शाही, कृष्ण जिएम, धनीराम जैशीको नाम चर्चामा छ । राप्रपाका तर्फबाट तारकसिंंह चौधरीको नाम अग्रस्थानमा छ भने टोपबहादुर शाहीको नामसमेत बाहिर आएको छ ।
बैजनाथ गाँउपालिकामा ३२ हजार ४ सय ६२ जना मतदाता छन् ।
खजुरा गाउँपालिका
जिल्लाका गाउँपालिका मध्ये खजुरा गाउँपालिकालाई राजनीतिक दलहरूले विशेष महत्वका साथ लिएको बुझिएको छ । खजुरा क्षेत्र नगरपालिकाका लागि सिफारिस भएपनि राजनीतिक दलबीच कुरा नमिल्दा अन्तिममा आएर रोकिएको थियो । बाँकेमा नेपालगन्ज र कोहलपुरपछि खजुरा ठूलो बजार हो । पहाडी क्षेत्रबाट बसाई सरेर आएका तथा अवकाशप्राप्त नेपाली, भारतीय र बेलायती सैनिक परिवारको बाक्लो बसोबास रहेको खजुरा विकासको दृष्टिले पनि अगाडि छ ।
यो गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसबाट एक दर्जनभन्दा बढीले दाबी गरिरहेका छन् । नेपाली कांग्रेसमा पूर्व्जिल्ला सभापति कृष्णमान श्रेष्ठदेखि संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरी समेत आकांक्षी बनेका छन् । क्षेत्रीय सभापति नक्की खाँ, जनजाति नेता रमेशकुमार सिंजाली, उत्तमराज घिमिरे, रामेश्वर कँडेल, राजेन्द्रकुमार आचार्य, चन्द्र हमाल, देवेन्द्रमान श्रेष्ठ, अर्जुनसिंह पाण्डे पनि आकांक्षी छन् ।
एमालेमा पनि धेरैको नाम चर्चामा छ । एमालेका पूर्वअध्यक्ष नन्दलाल रोकाया, पूर्वजिल्ला सचिव बाबुराम गौतम, जिल्ला प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपति, प्रदेश नं. ५ का सदस्य वेदनिधि प्याकुरेल, होमनाथ सापकोटा, लालबहादुर खत्री, जिल्ला कमिटी सदस्यद्वय सतीश निरौला र एकमाया बिक तथा पूर्णबहादुर भण्डारीको चर्चा गाउँपालिका प्रमुखमा छ । एमाले बाँकेका सचिव रत्न खत्रीले पनि उम्मेदवार बन्ने चाह व्यक्त गरेका छन् ।
खजुरामा तेस्रो ठूलो दल माओवादी केन्द्रमा पनि उत्तिकै चर्चा छ । माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्यद्वय डम्बरबहादुर बिक ‘तुफान’ र परमानन्द बर्माको नाम अगाडि छ । जिल्ला सल्लाहकार कान्तु गौतम पनि चर्चामा छन् । माओवादी केन्द्रका जिल्ला संयोजक आइपी खरेलको नाम पनि आकांक्षीका रूपमा लिइएको छ ।
यहाँ राप्रपाका तर्फबाट तेजविक्रम शाह, सजल थापा, मोहनबहादुर खड्का र केबी शाहीको नाम चर्चामा छ । यो गाउँपालिकामा साबिकका खजुरा गाविस, बागेश्वरी, रनियापुर, सोनपुर, उढरापुर, सीतापुर र राधापुर गाविस पर्दछन् । यो गाउँपालिकामा २९ हजार ४ सय १४ जना मतदाता रहेका छन् ।
राप्ती–सोनारी गाउँपालिका
राप्ती सोनारी गाउँपालिकामा कांग्रेसबाट बाँकेका पूर्व कार्यवाहक सभापति लाहुराम थारू, जिल्ला सचिव तप्त पौडेल, डिल्ली गिरी, कृष्ण पौडेल, भीम रानाको दाबेदारी रहेको छ । त्यस्तै एमालेबाट रामदास थारू, तुलसीराम थारू, सेवानिवृत्त शिक्षक लालबहादुर थापाले अध्यक्ष पदमा चासो राखेका छन् ।
यस्तैगरी माओवादी केन्द्रबाट पूर्वसभासद् पट्टु थारू (प्रदीप थारू), ताराबहादुर कसेरा र महिला नेतृ नमुना केसी चर्चामा छन् । राप्रपाबाट जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, देवेन्द्र पौडेल, रोशन पौडेल, दीपक पौडेल र सुरेश भण्डारीले आकांक्षा राखेका छन् ।
राप्ति सोनारी गाँउपालिकामा ३३ हजार ७ सय ५४ जना मतदाता रहेका छन् ।
डुडुवा गाउँपालिका
डुडुवा गाउँपालिका मधेसी र मुस्लिम बाहुल क्षेत्र हो । यस क्षेत्रमा कांग्रेसबाट नरेन्द्र चौधरी (पप्पु) र विजयबहादुर यादवको नाम चर्चामा छ । यस्तै एमालेबाट प्रेस चौतारी बाँकेका उपाअध्यक्ष शकिल खान, कप्तान पाठक, रहेका छन् भने माओवादी केन्द्रबाट भोला यादवको नाम चर्चामा
छ ।
मधेसी मोर्चा चुनावमा सहभागि भए संघीय समाजवादी फोरमका कामताप्रसाद सोनकर वा जगदीशबहादुर सिंह उम्मेदवार हुने सभावना छ ।
डुडुवा गाउँपालिकामा १७ हजार ६ सय ९ जना मतदाता छन् ।
जानकी गाउँपालिका
मधेसी समुदायको बाहुल्य रहेको जानकी गाउँपालिकामा कांग्रेसबाट पूर्वक्षेत्रीय सभापति जगदम्बाप्रसाद पाठक, दुखिराम लोनिया, छब्बन खाँ, रामदयाल कुर्मी, हौसीलाल कुर्मी चर्चामा छन् । एमालेबाट भने जिल्ला सचिवालय सदस्य पदम धितालका साथै पूर्व जिल्ला उपाध्यक्ष इन्द्रबहादुर थापा, राम निवास यादव, रामगोपाल कुर्मीको नाम पनि चर्चामा छ ।
यस्तै, माओवादी केन्द्रका रक्षाराम बर्मा, गोब्रे साईको पनि चर्चाको सूचीमा रहेको छ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट पूर्वजिल्ला अध्यक्ष हिरालाल लोनिया र प्रकाश लोनिया तथा मधेसी मोर्चाका त्रिवेणी कुर्मी, नन्दकिशोर बर्मा, राजेश बर्मा, राजकिशोर मिश्रले पनि आकांक्षा देखाएका छन् । यो गाउँपालिकामा १८ हजार ७८ जना मतदाता रहेका छन् ।
नरैनापुर गाउँपालिका
नरैनापुर गाउँपालिकामा पनि स्थानीय निकायको चुनावको उत्तिकै चहलपलह देखिएको छ । यहाँ कांग्रेसबाट रामचन्द्र मौर्य, ईशाहक जोलाह मुख्य दाबेदार हुन् ।
यस्तै, एमालेका विक्रम यादव, माओवादी केन्द्रबाट मेराज खान, संघीय समाजवादी फोरम नेपालबाट अजय श्रीवास्तव, सद्भावनाबाट डिट्ठाप्रसाद मौर्य प्रमुख पदका लागि उम्मेदवारको चर्चामा छन् । यो गाउँपालिकामा १५ हजार ४३ जना मतदाता रहेका छन् ।













प्रतिक्रिया