काठमाडौं, ४ वैशाख । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.२४ कमाण्ड तथा स्टाफ तालिमको बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच तालिमको शुभारम्भ गर्नुभएको छ ।
उक्त कार्यक्रममा बलाध्यक्ष रथी थापाले स्टाफ कलेज तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई तालिमको सफलताको कामना गर्नुहुँदै उक्त तालिमले जटिल तथा चुनौतीपूर्ण सुरक्षा अवस्थाहरुको मूल्याङ्कन गर्न, योजना बनाउन र कार्यान्वयन गर्ने क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी देवेन्द्र बहादुर मेधासीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त तालिममा नेपाली सेनाका तर्फबाट ४४ जना सेनानीहरु, नेपाल प्रहरीबाट १ जना प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी बलबाट २ जना सशस्त्र प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १ जना अनुसन्धान अधिकृतलगायत मित्रराष्ट्र बङ्गलादेश, भारत, मलेशिया, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका १÷१ जना र मित्रराष्ट्र चीनका २ जना गरी जम्मा ५८ जना शिक्षार्थीहरु उक्त तालिममा सहभागी रहेका छन् ।
साथै उक्त तालिममा सहभागी विदेशी शिक्षार्थी अधिकृतहरुमा मित्रराष्ट्र दक्षिण कोरिया र माल्दिभ्सबाट पहिलो पटक सहभागी भएका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो ।
उक्त कार्यक्रममा नेपाल सिभिल स्टाफ कलेजका कार्यकारी अधिकृत पुण्य प्रसाद न्यौपाने, त्रि.वि.मानविकी संकायका डिन प्रो.डा.शिवलाल भूषाल, नेपाली सेनाका रथीवृन्द, पूर्व शिक्षाधिकृतहरु, सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया