– तपेन्द्र कुँवर
धनगढी, ४ धनगढी । बैशाख ३१ गतेको निर्वाचन नजिकिँदै जाँदा अछाममा स्थानीय तहमा मतदाताबीच सम्भावित उम्मेदवारका बारेमा चर्चा चल्न थालेको छ ।
ठूला तीन दल कसलाई उम्मेदवार बनाउने भन्ने बहस गृहकार्यमा जुटेका छन् भने स्थानीय कसलाई जिताउने भन्ने सोचमा छन् । पूर्व उपप्रधानमन्त्री तथा एमाले पार्टी उपाध्यक्ष भिम रावलको गृह जिल्ला भएका कारण पनि यहाँ निर्वाचनको माहोल बढी तातेको छ ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र र २०७० सालको निर्वाचनमा अछाममा दुई वटै निर्वाचन क्षेत्रमा एमालले विजयी हासिल गरेको थियो । २०६४ सालको संविधान सभाको निर्वाचन एउटा क्षेत्रमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको थियो । संविधान सभाको निर्वाचन जस्तै स्थानीय तहमा एमाले पुरानै विरासत कायम राख्न चाहन्छ ।
यस्तै, संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन फरक–फरक भएका भन्दै स्थानीय तह निर्वाचनको परिणाम भने फरक आउने काँग्रेस र माओवादीको दाबी छ । तीन नगरपालिका र दुई गाउँपालिका रहेको अछामका दुईवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी ह्वातै बढेको छ । अहिलेसम्म तीनवटै पार्टीले आधिकारी उम्मेदवार घोषणा गरेका छैनन् ।
तर मेयरका दाबेदार प्रचारमा जुटिसकेका छन् । पंचदेवल–विनायक नगरपालिकाको मेयरका लागि अहिलेसम्म प्रमुख तीन पार्टीका १५ जना भन्दा बढीले दाबी गरेका छन् ।
काँग्रेसबाट पत्रकारदेखि पूर्व गाविस अध्यक्षसम्म
पञ्चदेवल–विनायक नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट बढी आकांक्षी देखिएका छन् । काँग्रेसमा मेयर पदका लागि नौ जना दावेदार देखिएका छन् ।
काँग्रेसबाट दिलबहादुर धामी, धर्मराज देवकोटा, वेदप्रकाश तिमिल्सैना, टंकबहादुर धामी, रामबहादुर शाही, अम्विका चलाउने, सुरत बिष्ट, लक्ष्मण शाह र वीरबहादुर शाही आकाक्षी देखिएका छन् । मेयर पदका लागि टिकट पाउने सम्भावना भने दिलबहादुर धामी र वेदप्रकाश तिमिल्सैनाको बढी रहेको स्रोतले जनाएको छ ।
दिलबहाुदर धामी काँगेसका पुराना तथा समाजसेवीका रुपमा चिनिन्छन् भने तिमिल्सैना काँग्रेस जिल्ला कार्य समितिका सहसचिव तथा नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष हुन् । त्यस्तै, देवकोटा पूर्व गाविस अध्यक्ष हुन् भने टंक धामी क्षेत्रीय सचिव हुन् । रामबहादुर शाही पुर्व गाविस अध्यक्ष र सुरत बिस्ट महाधिवेशन प्रतिनिधी हुन् ।
एमालेबाट जिल्ला उपाध्यक्षदेखि पूर्व शिक्षकसम्म
एमालेबाट पञ्चदेवल–विनायक नगरपालिकाको मेयरमा चार जनाले दाबी गरेका छन् । एमालेबाट नन्दबहादुर कडायत, टेकबहादुर शाही, योगेन्द्र बिष्ट र नमराज न्यौपानेले दाबी गरेका छन् । कडायत नेकपा एमाले अछाम जिल्ला कमिटीका उपाध्यक्ष हुन् ।
उनी क्षेत्र नं. २ का पुराना नेता हुन् । यस्तै शाही सचिवालय सदस्य हुन् । उनले समाजसेवीको रुपमा छबि बनाएका छन् । बिष्ट पूर्व शिक्षक हुन् । उनले पार्टीमा सक्रिय राजनीति गर्नका लागि ४ महिना अघि शिक्षकबाट राजीनामा दिएका दिएका छन् । न्यौपाने जिल्ला कमिटी सदस्य, जेसिसका पूर्व अध्यक्ष तथा युवा नेता हुन् ।
माओवादीबाट केन्द्रीय सदस्यसम्म
नेकपा माओवादी केन्द्रबाट तीन जना आकाक्षी देखिएका छन् । माओवादी केन्द्रबाट अक्कल रावल, शेरबहादुर बुढा र प्रकाश नेपालीको चर्चा रहेको छ । रावल र बुढा पार्टी केन्द्रीय महाधिवशेन आयोजक समितिका सदस्य हुन् । रावललाई क्षेत्र नं. २ का परिचित नेताका रुपमा लिइन्छ । माओवादी केन्द्रबाट रावलको चर्चा बढी छ । यस्तै, नेपाली सचिवालय सदस्य हुन् ।
पञ्चदेवल–विनायक नगरपालिकाको मेयरमा विजय हासिलपछि जलविद्युतदेखि सडक पूर्वाधार प्राविधिक शिक्षालयको स्थापना, काँलेकाँडासम्म सडक सञ्जालको बिस्तार गर्ने मुख्य तीन पार्टीको योजना रहेको छ । यस्तै कृषिको आधुनिकरण, पशुपालन व्यवसायको प्रवर्दन गर्ने दावी गर्दै आएका छन् ।
नौंवटा वडा रहेको पञ्चदेवल–विनायक नगरपालिकाको जनसंख्या २७ हजार ५ सय ८५ छ । नगरपालिकामा अन्य साना दलहरु भएपनि मुख्य गरी तीन ठूला पार्टीको प्रतिस्पर्धा हुने देखिएको छ ।












प्रतिक्रिया