सोल, ४ वैशाख । उत्तर कोरियाले आइतबार परीक्षण गरेको ब्यालिस्टिक मिसाइल असफल भएको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्पन्न विवादकैबीच उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो ।
उत्तर कोरियाले अमेरिकाले आक्रमण गरेको खण्डमा प्रतिकारका लागि तयार रहेको चेतावनी दिएको भोलिपल्टै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको हो । अमेरिकाले उत्तर कोरियाले परीक्षण गरेको सो मिसाइल प्रहार गरेको केही सेकेण्डमा नै असफल भएको दावी गरेको छ । उत्तर कोरियाले आफ्नो सैन्य शक्ति प्रदर्शनको केही घन्टापछि लामो दुरीको ब्यालिस्टिक मिसाइल परीक्षण गरेको हो ।
उत्तर कोरियाले गत वर्ष दुई वटा परमाणु बमको सफल परीक्षण गरेको थियो । यो सँगै उत्तर कोरियाले ५ वटा परमाणुका सफल परीक्षण गरेको छ भने दर्जनौं क्षेप्यास्त्र परीक्षण गरिसकेको छ ।
उत्तर कोरियाको यो मिसाइल कार्यक्रम जारी रहेका बेला अमेरिकी उपराष्ट्रपति माइक पेन्स दक्षिण कोरियाको राजधानी सियोल आएका छन् । उनको कोरिया बसाईको क्रममा उत्तर कोरियाको आणविक कार्यक्रमको शान्तिपूर्ण निकास खोज्ने विषयमा छलफल हुन सक्ने औल्याइएको छ ।
उपराष्ट्रपति पेन्स लामो तयारीपछि १० दिन लामो औपचारिक एसिया भ्रमणमा निस्किएका हुन् । उनले दक्षिण कोरियाको राष्ट्रपतिको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ह्वाङ क्योहनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
साथै उनले अन्य शीर्ष व्यक्तित्वलाई पनि भेट्ने भ्रमण तालिका रहेको अधिकारीहरुले बताएका छन् । दक्षिण कोरियाली रक्षा मन्त्रालयले परमाणु परीक्षण असफल भएको जनाएपनि त्यो कुन स्तरको क्षमताको थियो भन्ने बारेमा केही खुलाइएको छैन ।
अमरिकी प्यासिफिक कमाण्डले उत्तर कोरियाको मिसाइल परीक्षण असफल भएको जनाएको छ । एक अमेरिकी अधिकारीले यो अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल भएको अनुमान गरिएपनि अनुसन्धान जारी रहेको जनाएका छन् ।
उत्तर कोरियाको असफल ब्यालिस्टिक मिसाइल परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको छ । उत्तर कोरियाले गरेको यस ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणबाट कोरियाली प्रायद्विपमा तनाव उत्पन्न भएको छ । दक्षिणी कोरियाली विदेशी मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी उत्तर कोरियाले राष्ट्र संघ सुरक्षा परिषद्को नियमको उल्लंघन गरेको आरोप लगाएको छ ।
स्थानीय समयानुसार आइतबार बिहान ६ बजेर २० मिनेटको समयमा उत्तर कोरियाको पूर्वी सहर सिन्पोबाट सो क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिणी कोरियाली सरकारी स्रोतले जानकारी दिएको छ । उत्तरी कोरियाले परीक्षण गरेको यस असफल व्यालिस्टिक क्षेप्यास्त्र झन्डै एक हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षमता रहेको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरियाले बेला बेलामा यस्ता क्षेस्यास्त्र परीक्षण गर्दै आइरहेको छ ।
देशका संस्थापक नेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसरमा प्योङयाङमा आइतबार भएको बृहत सैन्य शक्ति प्रदर्शनपछि सो क्षेप्यास्त्र परीक्षण गरिएको थियो । – एजेन्सी













प्रतिक्रिया