२० कार्तिक २०८३, शुक्रबार

‘युवा परिचालन गरेर पूरै टिमलाई जिताउँछु’

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गुल्मी, ३ वैशाख । गुल्मी जिल्लाको अर्ललंगकोट गविसका पूर्व उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले पार्टीले विश्वास गरेर मुसीकोट नगरपालिकाको मेयर वा उपमेयरमध्ये एक पदमा कांग्रेस नेतृत्वले टिकट दियो भने आफूले विपक्षी दलका युवाहरूलाई कांग्रेसमा प्रवेश गराएर पूरै टिमलाई जिताउने दाबी गरेका छन् ।

मुसीकोट नगरपालिकको मेयर पदमा दाबी गरिरहेका सापकोट भन्छन्, ‘मेरो दाबी मेयर पदमा हो । तर, अग्रजको सम्मान र सहमतिका लागि उपमेयरमा पनि प्रतिस्पर्धाका लागि तयार छु ।’ ०५४ सालको स्थानीय निर्वाचनमा गाविस उपाध्यक्षमा विजयी भएका सापकोटा अर्लगङ्कोटमा लोकप्रिय मानिन्छन् ।

नेपाल विधार्थी संघबाट कांग्रेसको राजनीति सुरु गरेका सापकोटा गुल्मी क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्ष, नेबिसंघको जिल्ला सदस्य, नेपाल तरुण दलको जिल्ला सदस्य हुँदै तरूण दल कै केन्द्रीय सामाजिक तथा सांस्कृतिक विभागको उपप्रमुख भइसकेका छन् ।

नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिको अध्यक्ष भएर एक कार्यकाल सफल नेतृत्व चलाइसकेका युवा नेता सापकोटाले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा युवाहरूले अवसर पाउनुपर्ने बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा आफूले टिकट पाए मुसीकोट नगरपालिकामा सबै वडामा पूरै टिमलाई जिताउन सक्ने आफूमा क्षमता रहेको उनले दाबी गरे । ‘मेयर वा उपमेयरमध्ये एक पदमा टिकट पाएँ भने पूरै टिमलाई जिताउन सक्छु’, दाबी गर्दै उनले भने, ‘एमाले, माओवादी, राप्रपासहितका साना दलका कार्यकर्तालाई परिचालन गरेर कांग्रेसका पक्षमा मतदान गराउन सक्ने आँट मसँग छ ।’

मुसीकोट नगरपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने बताएका कांग्रेसका युवा नेता सापकोटाले भने, ‘एमालेलाई मैले चुनौती दिन सक्छु । मेरो पक्षमा एमालेका स्थानीय नेता कार्यकर्ता छन् । उनीहरूले मलाई समर्थन गर्ने आश्वासन दिएका छन् ।’

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका प्रभावशाली युवा नेतामा पर्छन् सापकोटा । सापकोटाले आफ्नो पक्षमा माहोल बनाउन मुसीकोट नगरपालिकामा प्रचार–प्रसार पनि सुरु गरिसकेका छन् । ‘पार्टीले मलाई अवश्य टिकट दिन्छ’, उनले भने, ‘टिकट पाए पनि नपाए पनि कांग्रेसको पक्षमा मेरो अभियान जारी रहन्छ ।’