
तपेन्द्र कुँवर धनगढी, २ बैशाख । दश वटा स्थानीय तह रहेको अछाममा चुनावको रौनक बढ्दै गएको छ । चिया चौतारादेखि सार्वजनिक स्थलमा अहिले स्थानीय तहको निर्वाचनको बहस हुन्छ ।
अछाम पूर्वउपप्रधानमन्त्री तथा एमाले पार्टी उपाध्यक्ष समेत रहेका भीम रावलको गृह जिल्ला भएका कारण पनि बढी चर्चा छ। यहाँ २०६४ सालको संविधान सभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र र २०७० सालको निर्वाचनमा दुईवटै निर्वाचन क्षेत्रमा एमालले विजयी हासिल गरेको थियो ।
२०६४ सालको संविधान सभाको निर्वाचन एउटा क्षेत्रमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको थियो । २०७० सालको संविधान चुनाव जस्तै स्थानीय तहको चुनावमा पनि बहुमत सहित एमाले पहिलो पार्टी बन्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्व सभासद शेरबहादुर कुँवरको भनाई रहेको छ ।
एमाले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्नको लागि अहिले जनताको घरदैलो, वडा, गाउँपालिकादेखि नगपालिकामा आमसभास छलफल वैठकको आयोजना गरिरहेको पूर्व सभासद कुँवरले जानकारी दिए । नेपाली काँग्रेसले पनि संविधान चुनावको परिणाम र स्थानीय तहको चुनाव बेग्लै भएका कारण आफ्नो जित हुने दावी गरेको छ ।
नेपाली काँग्रेसका सचिव भरत कुमालले वडादेखि गाउँ र नगरपालिकाका वैठक सम्पन्न भइसकेकाले दुई–तीन दिनमा पार्टीका आधिकारिक उम्मेदारीको नाम सार्वजनिक गरिने बताए । उनले माओवादीसँग समिकरण हुन सक्ने सम्भावना समेत रहेको जानकारी दिए ।
यस्तै, नेकपा मओवादी केन्द्रले एक नगरपालिका सहित ३ गाउँपालिकामा जित सुनिश्चित भएको जिल्ला ईन्चार्ज खगेन्द्र रोकायाले बताउँछन् । उनले नेकपा माओवादी केन्द्रले अहिले घरदैलोपछि मूल्याङक गर्दा आफ्नो पक्षमा माहोल बन्दै बताए । उहाँले पार्टीका उम्मेदवार जिताउनको लागि कुनै दलसँग समिकरण हुन सक्ने बताए । अछाममा मुख्य गरि तीन दलको प्रतिस्पार्धा हुने देखिएको छ ।
साँफेबगरको मेयरमा को–को छन् आकांक्षी
जिल्लामा अन्य तह भन्दा साँफेबगर नगरपालिकाले बढी प्रभाव राख्दछ । पछिल्लो पटक जिल्लामा रहेका दुइवटै निर्वाचन क्षेत्र जितेको एमालेको साँफेबगरमा बर्चस्व देखिन्छ ।
एमाले उपाध्यक्ष भीम रावललको चुनावी क्षेत्रमा पर्ने साँफेबगर नगरपालिकामा नयाँ संरचनापछि एमाले बाहुल्यता भएका साविकका गाविसहरु जोडिएका छन् । यसअघिका चुनावी माहोललाई हेर्ने हो भने यो क्षेत्रमा अहिले पनि एमाले उम्मेदवारले बाजी मार्न सक्ने आँकलन गरिएको छ ।
काँग्रेसबाट आकांक्षी
साँफेबगर नगरपालिकामा नेपाली काँग्रेसबाट चार जना आकांक्षी देखिएका छन् । जसमा काँग्रेस पार्टी सचिव भरत कुमाल, नेविसंघका पूर्व जिल्ला अध्यक्ष तथा युवा नेता राजन कुँवर, तरुण दलका पूर्व अध्यक्ष राजेन्द्र कुँवर र नरबहादुर कुँवरको चर्चा छ ।
यद्यपि अहिलेसम्म पार्टीले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । पार्टी सचिव तथा मेयरका आकांक्षी कुमालले केही दिनमै उम्मेदवारको टुंगो लाग्ने जानकारी दिएका छन् । उनले जुन व्यक्ति उठेपनि साँफेबगर नगरपालिकाको मेयरमा काँग्रेसले जित्ने दाबी गरेका छन् ।
एमालेबाट आकांक्षी
साँफेबगर नगरपालिकामा नेकपा एमालेबाट मेयरको लागि पूर्व अञ्चल सदस्य गोविन्द कुँवर, कुलबहादुर कुँवर र शिलोज कुँवर, सचिवालय सदस्य प्रकाश शाहको चर्चा रहेको छ । गोविन्द कुँवर एमालेका पुराना कार्यकर्ता तथा पूर्व उपाध्यक्ष समेत रहेकाले उनको चर्चा बढी रहेको देखिन्छ ।
प्रदेश सदस्य कुलबहादुर कुँवर र जिल्ला सदस्य शिलोज कुँवर पनि दावेदारका रुपमा देखिएका छन् । जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले साबिकको नगरपालिका र नगरपालिकामा थपिएका गाविसमा एमालेको पकड भएका कारण एमाले एक्लैले अन्य पार्टीसंग प्रतिशपर्धा गर्न सक्ने दाबी गर्छन् ।
माओबादी केन्द्रबाट आकांक्षी
यस्तै, नेकपा माओवादी केन्द्रबाट युवा नेता सुरत भुल, टंक रावल र खगेन्द्र ओड चुनावी प्रतिस्पर्धामा रहेका छन । माओवादी केन्द्रले पनि साँफेबगर नगरपालिकाका मेयर जित्ने दाबी गर्दै आएको छ ।
तर, साँफेबगर नगरपालिकामा नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने आँकल गरिएको छ । काँग्रेस र माओवादीको समिकरण भएमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
काँग्रेस र माओवादीले समिरकणको बारेमा अहिले कुनै आधिकारिक निर्णय भने गरेको छैन । १४ वडा रहेको साँफेनगरपालिकामा ३३ हजार ७ सय ८८ मतदाता छन् ।












प्रतिक्रिया