चन्द्रौटा, १ वैशाख । आगलागीबाट सर्वस्व गुमाएका कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरका अग्नीपीडित यतिबेला विचल्लीमा परेका छन् ।
आगलागीले उनीहरुको बासस्थान नै खरानीमा परिणत भएको छ । वर्षभरिलाई थन्क्याएर राखेको अन्नपात सबै जलेर नष्ट भएको छ । जीउमा लगाएको एकसरो बाहेक घरभित्रको सम्पूर्ण सम्पत्ति नष्ट भएको छ ।
त्यहाँका तीन परिवारको त झनै बिजोग बनेको छ । छोरीको विवाहको तयारीमा रहेका तीन जना अग्नीपीडित परिवारले छोरीको विवाह कसरी गर्ने भन्ने चिन्तामा छन् । नन्हे रैदासले एकसातापछि बैशाख ६ गते छोरीको विवाहको तयारी गर्नुभएको थियो ।
“आगोले सर्वस्व लुट्यो, अब के गर्ने, बहिनीको विवाह कसरी सकाउने भन्ने पिरलोले सताएको छ” –दाजु पुजारी रैदासले चिन्ता व्यक्त गर्नुभयो ।
रैदास परिवार जस्तै मन्नु पासी र मन्नान मियालाई पनि छोरीको विवाहका लागि जुटाएको सामान सबै आगोले छिनेपछि चिन्चित बनेका छन् । छोरीको विवाहका लागि सहयोग गरिदिन उनीहरुले प्रशासन तथा संघसंस्थासँग हारगुहार मागेका छन् ।
बुधबार दिउँसो साढे ११ बजे हावाहुरीसँगै मन्नान मियाको घरबाट सल्किएको आगोले सितलापुरबासीलाई रुवाउनु रुवायो । आगोले सितलापुरको दक्षिणी टोलको ५९ घरगोठ जलेपनि वास्तविक ३५ घरपरिवार रहेको प्रशासनले अन्तिम डाटा निकालेको छ ।
प्रशासनको प्रारम्भिक तथ्यांक अनुसार ५० लाख बढीको क्षति भएको बताइएको छ । आगलागीबाट स्कूले बालबालिकाहरुको सम्पूर्ण किताब, कापी, विद्यालय पोशाक समेत जलेर नष्ट भएको बताइएको छ । २सय बढी घरधुरी रहेको उक्त बस्तीमा बीस वर्ष अघि पनि आगलागी हुँदा पूरै बस्ती नै सखाप भएको थियो भने बीस वर्षपछि पुनः आगलागी हुँदा ३५ घरपरिवारको ५९ घरगोठ जलेर नष्ट भएको छ ।
विभिन्न संघसंस्थाद्वारा अग्नीपीडितलाई राहत
कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरका अग्नीपीडितलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेका छन् । तत्कालिन अवस्थामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले ४० परिवारलाई जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गर्नुभएको थियो ।
आगलागीकै दिन बुधबार साँझ समाजसेवी तथा फफुरी बोर्डिङ स्कूलका डाइरेक्टर फरहान इकबाल खान, समाजसेवी विजय जयसवाल, मेहताव आलम खान, सहेनसा आलम खानउर्फ बब्बुले संयुक्त रुपमा ४२ परिवारलाई राहत सामग्री वितरण गरेका थिए । प्रति परिवारलाई १० किलो चामल, १ लिटर तेल, २ किलो नुन, १ किलो दाल र मसलाका प्याकेट वितरण गरिएको बताइएको छ ।
विहीबार दिउँसो चन्द्रौटाका समाजसेवी एवं लोकप्रिय ब्राण्डका सञ्चालक जमशेर अलि मियाले खाद्यान्न वितरण गर्नुभयो । इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्र भट्टराई, नेपाली कांग्रेसका कार्यबाहक सभापति अब्दुल कलाम खाँ, हाजी सब्बीर पठान, हार्डवेयर व्यवसायी संघका अध्यक्ष मकबूल खान लगायतको रोहबरमा मियाले राहत वितरण गर्नुभएको हो ।
त्यसबस्तीका अग्नीपीडित ३२ घरपरिवारलाई मियाले जनही १५ किलो चामल, ५ किलो आलु, २ किलो दाल, मसला, नून, तेल सहित दुई जोर टिसर्ट, २ जोर चप्पल, साबुन लगायतका राहत सामग्री पीडित वस्तीमा पुगी वितरण गर्नुभएको थियो ।
विपतमा परेकोलाई सहयोग गर्नु नै मानवताकोे मुख्य धर्म भएको महसुस गरी राहत सामग्री प्रदान गरेको मियाले बताउनुभयो । विभिन्न सहयोगी निकायबाट सम्पर्क समन्वय गरेर अझै गासबासको व्यवस्थाका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।
यसैबीच दलित सामाजिक विकास केन्द्र कपिलवस्तुले ३७ परिवारलाई त्रिपाल वितरण गरेको छ । युनाइटेड मिसन टु नेपालको सहयोगमा दलित सामाजिक केन्द्रले अग्नीपीडित परिवारलाई सो सामग्री वितरण गरेको हो ।
संस्थाका अध्यक्ष रामशरण रैदास, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रविण कुमार श्रीवास्तव, संस्थाका कर्मचारी राजेन्द्र प्रसाद चौधरीसहितको टोली घटनास्थल पुगी त्रिपाल वितरण गरेको थियो । यसैगरी अग्नीपीडितका लागि विभिन्न संघसंस्थाबाट राहत सामग्री आउने क्रम जारी रहेको बताइएको छ ।













प्रतिक्रिया