
बटौली, ३१ चैत । स्थानीय तहको निर्वाचन हुन अब ३० दिन बाँकी छ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरुमा सम्भावित उम्मेदवारहरुको चर्चा भइनै रहेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समेत मेयर को उठ्ने भन्ने विषयमा चर्चा भइरहेको छ ।
डेढ दशकपछि हुन लागेको निर्वाचनले स्थानीय बासिन्दामा पनि उत्साह छाएको छ । कुनै बेला कृषि भूमि रहेको तिलोत्तमा नगरपालिकामा वि.सं. २०६८ को जनगणना अनुसार यहाको १ लाख १ हजार ४९ जनसंख्या रहेको छ ।
यस क्षेत्रमा एमालेको तर्फबाट उम्मेदवारको रुपमा खुमकान्त पौडेल, वासुदेव घिमिरे, मोहन चापागाई र शशि पौडेलको चर्चा चलेको छ । वि.स. ०४४ सालदेखि तत्कालिन नेकपा मासको भातृ संगठन अनेरास्ववियू छैठोको बाग्लुङ जिल्ला कमिटी उपाध्यक्षबाट राजनीतिक सुरु गरेका पौडेल राजनीतिमा सक्रिय छन् ।
एलएलएम (कानुनशास्त्र) र एम ए (समाजशास्त्र, मानवशास्त्र) गरेका पौडेल तिलौत्तमा समग्र आर्थिक, सामाजिक विकासका लागि आफू मेयरको आकांक्षी भएको बताउनछन् । सामाजिक संघसंस्थामा समेत उत्तिकै सक्रिय रहेका पौडेलसंग नेतृत्व गर्न सक्ने क्षमता भएको त्यस क्षेत्रका समाजसेवी अगुवाहरु बताउछन् ।
०४५ सालमा अनेरास्ववियू छैंठोको रुपन्देही जिल्ला कोषाध्यक्ष, ०४६ सालमा आन्दोलनमा सक्रिय भएकै कारण प्रहरी हिरासत, ०४७ सालको संविधान सभाको निर्वाचन द्वारा संविधान निर्माण गर्नुपर्छ भनेर संविधान जलाउन भन्दै हिरासत हुदै उनको राजनीतिक यात्रा अगाडि बढेको छ । उनी नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा कानुन विभाग र प्रगतिशत तथा पेशागत कानुन व्यवसायी संगठनको जिल्ला ईन्चार्ज समेत हुन् ।
कांग्रेस नेता बालकृष्ण खाड र एमाले उपमहासचिव धनश्याम भुषालको क्षेत्र रहेको तिलोत्तमा नगरपालिकामा अर्का मेहरका आकाक्षी हुन मोहन चापागाई । एमालेका जिल्ला सदस्य तथा नगर इन्चार्ज समेत रहेका मोहन चापागाईंले विद्यार्थी कालबाट राजनीति थालेका हुन् ।
विद्यार्थीको नेतृत्व गर्दैगर्दा उनी २०४६ सालको जनआन्दोलनताका १७ दिन हिरासतमा, २०४९ सालमा पार्टीको इलाका कमिटीमा रहेर काम गरेका उनी पत्रकारिता क्षेत्रमा क्रियाशिल भए र त्यसपछि फेरि पार्टीको सक्रिय राजनीतिमा आएका हुन । उनी सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को निवर्तमान अध्यक्ष र रेडियो लुम्बिनीको अध्यक्ष छन् ।
स्थानीय सामाजिक संघसंस्थाहरुको कुशलतापुर्वक नेतृत्व गरेका उनलाई मन्त्रालयमा समेत बसेर काम गरेको अनुभव छ । विष्णु पौडेल अर्थमन्त्री हुँदा उनी पौडेलको सञ्चार विज्ञका रुपमा काम गरेका थिए । उनले यसअगाडि नेपाल पत्रकार महासंघ रुपन्देही, प्रेस चौतारी रुपन्देही र अनेरास्ववियु रुपन्देहीको नेतृत्व समेत गरिसकेका छन् ।
शंकरनगर गाउँ कमिटीबाट पार्टी राजनीति सुरु गरेका घिमिरेले युवा संघमा पनि लामो समय काम गरेका छन् । उनी २०४८ सालमै तत्कालीन प्ररायु संघको गाउँ कमिटीको अध्यक्ष बनेका थिए भने त्यसपछि क्षेत्र, जिल्ला हुँदै केन्द्रीय सदस्य समेत बनेका थिए ।
पार्टीमा भने उनले शंकरनगर गाउँ कमिटी र इलाका कमिटीमा दुई कार्यकाल सचिव, क्षेत्रीय सदस्य र अध्यक्ष हुँदै हाल पार्टीको रुपन्देही जिल्ला कमिटीको सदस्य छन् । यो जिल्ला कमिटीमा उनको दोस्रो कार्यकाल हो । उनी मिसन डेभलपमेन्ट बैंकको अध्यक्ष समेत हुन् । उनले तिलोत्तमा नगरलाई नेपालकै नमूना नगरको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
मेयरका अर्का आकांक्षी शशी पौडेल सफल किसानको रुपमा देशैभर परिचित छन् । उनले सञ्चालन गरिरहेको लुम्बिनी एग्रो एन्ड रिसर्च सेन्टर प्रा.लि. देशकै ठूलो मानिएको छ । उनले पनि विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्व गरिसकेका छन् । उनि रेडियो लुम्विनी का पूर्व अध्यक्ष समेत हुन ।
उनलाई नजिकबाट चिन्नेहरु पौडेल विकासप्रेमी रहेको र स्वार्थबाट माथि उठ्ने व्यक्तिका रुपमा चर्चा गर्छन् । उनले तिलोत्तमा नगरपालिकालाई सुन्दर नगर बनाउने आफ्नो सपना रहेको बताए । त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट यमबहादुर खत्री, रोमणी पाठक, र कृष्णबहादुर गौतमको नाम चर्चामा छ ।
यी मध्ये पाठक २०३२ सालदेखि काँग्रेसमा आवद्ध भएका पाठक २०३६ सालको विद्यार्थी आन्दोलनमा बहुदल प्रचारप्रसार समितिको अध्यक्ष, २०३९ सालमा आनन्दवनमा पार्टीबाट उपप्रधानपञ्चको चुनाव लडेका उनी २०४४ मा जिविस उपसभापतिको उम्मेदवार समेत बनेका थिए ।
त्यस्तै २०४९ र २०५४ मा आनन्दवन गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पाठक अहिले विपी चिन्तन प्रतिष्ठान रुपन्देहीको अध्यक्ष छन् भने ब्राम्हण समाज नेपालको कार्यवाहक अध्यक्ष छन् । त्यसैगरी उनले दर्जनौं सामाजिक तथा धार्मिक संघसंस्थाको नेतृत्व गरिसकेका छन् ।
अर्का आकांक्षी कृष्णबहादुर गौतम पनि विद्यार्थी राजनीति हुदै पार्टीमा क्रियाशिल भएका हुन् । उनी यसअगाडि रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष थिए भने घरेलु महासंघका केन्द्रीय प्रतिनिधि समेत भएका थिए । अहिले भने उनी तिलोत्तमा नगर विकास समितिको अध्यक्ष छन् । कांग्रेसबाटै अर्को आकांक्षी हुन्, यमबहादुर खत्री ।
उनी नेपाली कांग्रेसका जिल्ला समिति सदस्य हुन् । २०४७ सालमा काग्रेसको सदस्यता लिएका उनले २०५७ देखि २०६७ सम्म पार्टीको शंकरनगर गाउ समिति सभापति भएर काम गरेका थिए । त्यस्तै २०६७ मा काँग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय सभापति भएका खत्री २०७२ देखि महासमिति सदस्य रही आएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट लक्ष्मण खनाल र हेमन्त पाण्डे मुख्य आकांक्षी छन् । दुवै पार्टीका केन्द्रीय सदस्य हुन् । खनाल हालै भएको तिलोत्तमा नगरको हालै भएको अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका छन् भने पाण्डे यस अगाडि तिलोत्तमा नगरको इन्चार्जको रुपमा काम गरेका थिए ।
यद्यपि खनालले पार्टीले पाण्डेलाई निर्णय गरेको खण्डमा आफ्नो समर्थन रहने बताए । १० वर्षे सशस्त्र युद्धदेखि पार्टीमा क्रियाशिल रहँदै आएका पाण्डे शान्ति पक्रियामा आएपछि विभिन्न कमिटी हुँदै अहिले केन्द्रीय सदस्यको भूमिकामा छन् ।
महिलातर्फ भने नेपाली कांग्रेसबाट गंगा शाही, कविता अर्याल लगायतको नाम चर्चामा छ ।
त्यसैगरी एमालेबाट जिल्ला सचिव रहेकी जागेश्वरी चौधरी, जिल्ला सदस्यद्वय देवी वाग्ले, जमुना लम्साल लगायतको नाम विशेष चर्चामा रहेको एमाले स्रोतले बतायो । माओवादी केन्द्रबाट महिलामा भने दिलमाया गुरुङ आकांक्षी देखिएकी छन् । उनी पार्टीको जिल्ला कमिटी सदस्य तथा अनेमसंघ क्रान्तिकारीको जिल्ला सदस्य छन् ।












प्रतिक्रिया