
सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), ३० चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले अबको बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने उद्घोष गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरस्थित नेपाल आदर्श माविको ४२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले सरकारले शिक्षालाई मुख्य रुपमा हेरिरहेको बताए ।
सरकारले अब नयाँ बजेट ल्याउने तयारीमा रहेको बताउँदै उनले शिक्षालाई विशेष रुपमा हेरिने प्रतिबद्धता जाहेर गरे । आदर्श मावि प्रदेश नं. ५ को नमुना स्कूल बनेकोमा बधाई दिंदै विद्यालयको अग्रगामी विकासका लागि आफूले सकेको सहयोग पुर्याउने बताए ।
अर्को फरक प्रसंगमा बोल्दै अर्थमन्त्री महराले बैशाख ३१ मा स्थानीय निकायको चुनाव हुने भएकाले सबैलाई ढुक्क हुन आग्रह गरे । मधेशी मोर्चाले बिरोध जनाएपनि तेस्रो संविधान संशोधन प्रस्ताव पेश भएको र त्यसले मधेशी दलहरुको माग समेत समेट्ने भएकाले स्थानीय निकायको चुनाव नहुनेमा कसैले शंका नगर्न समेत आग्रह गरे ।
कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले कपिलवस्तु जिल्ला शिक्षामा केही पछाडि रहे तापनि प्रदेशको नमुना वन्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले जिल्लामा दरबन्दी मिलानको समस्या रहेको औल्याउँदै साबिकका २६ वडा गाबिसमा माबि समेत नभएको र ५ गाबिसमा निमावि नभएको समस्या दशाए ।












प्रतिक्रिया