इस्लामाबाद, २९ चैत । पाकिस्तानमा भारतका कथित जासुस कुलभूषण सुधीर जाधवलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानले उनी भारतीय गुप्तचर निकाय ‘रअ’ का एजेन्ट भएको दाबी गर्दै आएको छ ।
कुलभूषण जाधवलाई सन् २०१६ को ३ मार्चमा बलुचिस्तानमा गिरफ्तार गरिएको थियो । उनीमाथि पाकिस्तानको जासुसी गरेको आरोप छ । सो आरोपमा उनीमाथि पाकिस्तानमा सैनिक कानुनअनुसार सैनिक अदालतमा मुद्दा चलिरहेको थियो । यसमा कुलभूषणमाथिको आरोप सही साबित भएको भन्दै मृत्युदण्डको सजाय तोकिएको हो ।
पाकिस्तानका सैनिक प्रमुख कमर जाभेद बाजवाले कुलभूषणलाई मृत्युदण्डको सजाय भएको पुष्टि गरेका छन् । उनले कुलभूषणलाई आफ्नो बचाउका लागि कानुनी सहायता समेत उपलब्ध गराएको दाबी गरेका छन् ।
भारतले भने उनी जासुस भएको भन्दै पाकिस्तानी आरोपको खण्डन गर्दै आएको थियो । भारती विदेशमन्त्रालयले भनेको थियो, ‘हाम्रो अनुसन्धानमा पत्ता लागेको छ कि भारतीय नागरिकलाई प्रताडित गरिएको छ, जो इरानबाट कानुनी तरिकाले आफ्नो कारोबार सञ्चालन गरिरहेका थिए । हामी उनको अपहरण भएको हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।’
मन्त्रालयले आरोप निराधार रहेको दाबी गर्दै आएको छ । पाकिस्तानले आफ्नो आरोपको सबुतमा सेना र सरकारको एक साता पत्रकार सम्मेलनमा कुलभूषण जाधवको भिडियो देखाइएको थियो ।
भिडियोमा यी व्यक्तिले भारतीय नौसेनाका अधिकारी र भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को सदस्य भएको बताएका छन् । तर भारतीय विदेश मन्त्रालयले भने उनले सामान्य रुपमा नै बयान लिएकोमा आशंका जनाएको छ ।
६ मिनेटको सो भिडियोमा कुलभूषणले १९९१ मा भारतीय नौसेनामा सामेल भएको र सन् २०१३ देखि ‘रअ’ का लागि काम गर्न सुरु गरेको बताएका छन् । उनको गिरफ्तारीको मुद्दा संयुक्त राष्ट्र संघ सम्म पनि उठाइएको थियो ।
भारत आक्रोशित
यसैबीच भारतले आफ्ना नागरिकलाई मृत्युदण्डको सजाय दिने फैसलाको कडा विरोध जनाउँदै यसलाई जाधवको सुनियोजित हत्या गर्ने कोशिसको संज्ञा दिएको छ । पाकिस्तानले भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को एजेन्ट भएको भन्दै जाधवलाई मृत्युदण्डको सजाय दिने फैसला गरेपछि भारत आक्रोसित बनेको हो ।
भारत सरकारले जाधवलाई गत वर्ष बलुचिस्तानबाट नभई इरानबाट अपहरण गरेको आरोप लगाउँदै यस विषयमा कहिल्यै विश्वसनीय ढंगले नभनिएको जनाएको छ । इस्लामाबादस्थित भारतीय दूतावासले अन्तर्राष्ट्रिय कानुनअनुसार २५ मार्च २०१६ देखि ३१ मार्च २०१७ सम्म १३ पटक जाधवलाई भेट्न अनुमति मागेपनि नदिइएको भारतको दाबी छ । उनलाई मृत्युदण्डको सजाय सुनाएपछि महाराष्ट्रस्थित कुलभूषणको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
कुलभूषण रिटायर्ड अफिसर : भारत
भारतीय विदेशमन्त्रायले जारी गरेको विज्ञप्तिमा कुलभूषणलाई दबाब दिएर भारतीय गुप्तचर अधिकारी भएको स्वीकार गर्न लगाइएको दाबी गरेको छ । पाकिस्तानी सरकारी अधिकारीले कुलभूषण जाधवको ६ मिनेट लामो भिडियो जारी गरेका छन् । सो भिडियोमा उनी आफैले ‘रअ’ लागि काम गरिरहेको बताएका छन् । उनको गिरफ्तारीपछि भारतले कुलभूषण भारतको नौसेनाबाट सेवानिवृत्त भइसकेको जनाएको छ । सेवा निवृत्त भइसकेपछि सरकारसँग उनको कुनै सम्पर्क नरहेको पनि भारत सरकारको दाबी छ ।
दक्षिण एसियाली क्षेत्रमा परम्परागत दुस्मन शक्तिका रुपमा देखिएका भारत र पाकिस्तानबीच गत वर्षदेखि बढ्दो अविश्वासकैबीच भएको यो घटनाले थप अस्थिरता बढाउने देखिएको छ । काश्मीर र बलुचिस्तानका बिषयलाई लिएर गत वर्ष भारत र पाकिस्तानबीच जुहारी नै चलेको थियो ।
भारत प्रशासित काश्मिरमा जारी मुस्लिम समुदायको आन्दोलनलाई पाकिस्तानले समर्थन गरेपछि भारतले पनि बलुचिस्तानको मुद्दा उठाएको थियो । राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पाकिस्तानतर्फ संकेत गर्दै सिसाको घर हुनेले अर्काको घरमा ढुंगा हान्न नहुने तर्क राखेकी थिइन् ।
भारत प्रशासित काश्मिरमा हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको गत वर्षको जुलाईमा प्रहरीले हत्या गरेपछि काश्मिर हिंसा चर्किएको हो ।
काश्मीरमा अझै पनि मुस्लिम समुदायको आन्दोलन जारी छ । सो आन्दोलनलाई पाकिस्तानले समर्थन गर्दै काश्मीरको स्वतन्त्रता आन्दोलनमा सहयोग गर्ने बताएपछि दुई देशबीच सम्बन्ध नराम्ररी बिग्रिएको छ । – एजेन्सी













प्रतिक्रिया