काठमाडौं, २८ चैत । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबीलाई झुटो भनेको छ ।
कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा सोमबार बसेको स्थायी समिति बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचन मितिका बारेमा प्रधानमन्त्री दाहाल र सत्ताघटक दलका कतिपय नेताहरुबाट सार्वजनिक भएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।
बैठकपछि सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘नेकपा (एमाले)को नेतृत्वसँग आजसम्म संविधान संशोधनका विषयमा विषयगत रुपमा कुनै गम्भीर र ठोस छलफल प्रधानमन्त्रीका तर्फबाट भएको छैन । तर प्रधानमन्त्री स्वयम्ले एमाले नेतृत्वसँग समेत सहमति भएको भन्ने झूठ अभिव्यक्तिहरु सार्वजनिक गरिरहनुभएको छ । हाम्रो पार्टी प्रधानमन्त्रीका उपरोक्त भनाइहरुको भ्रममा नपर्न आम जनसमुदायलाई अपिल गर्दछौं ।’
संशोधन प्रस्तावमा समर्थन नगर्ने निर्णय
बैठकले संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने समेत निर्णय गरेको छ । ‘ जनआन्दोलनको मर्म र भावनाविरुद्ध संविधानको मर्म र भावनाविपरीत स्थानीय तह र प्रदेशका अधिकारका विरुद्धको कुनै पनि प्रस्ताव साथै नेपालको सामाजिक सद्भाव र भौगोलिक एकतालाई कमजोर पार्ने कुनै पनि प्रस्तावप्रति हाम्रो पार्टीको समर्थन नरहने कुरा पुनः स्मरण गराउन चाहन्छौं,’ एमालेले भनेको छ ।
बैठकले २०७४ वैशाख ३१ गते तोकिएकै मितिमा देशभर एकैपटक सबै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्दछ भन्ने पार्टीको पूर्ववत् अडानलाई जोड समेत दिएको छ ।













प्रतिक्रिया