– मिना बुढाथोकी
सल्यान, २८ चैत । सामान्यतया फुटवलमा खेलाडिले ठुलो गल्ती गरेमा दिइने रेडकार्ड सल्यानका विद्यालयहरुले भने छोराछोरीलाई नियमित विद्यालय नपठाउने अविभावकलाई दिन थालेका छन् ।
सल्यानको दार्मा गाउँपालिका ५ गोठिवनका ३८ वर्षिय टेक बहादुर विकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रेडकार्ड आएपछि उनि अचम्ममा परे ।
विद्यालयबाट रेडकार्ड किन पाइयो भनेर थाहा नपाएका टेक बहादुर कक्षा ३ मा पढिरहेको छोरा गोविन्दले कार्डमा लेखेको सवै कुरा विस्तारै पढेर सुनाएपछि भने छाँगाबाट खसेजस्तै भए ।
विद्यालयले छोरालाई नियमित किन नपठाएको भनेर रेडकार्ड मात्रै पठाएको थिएन उनको गम्भीर ध्यानाकर्षण समेत गराएको थियो ।
टेक बहादुरले भने–“पुस महिनामा रेडकार्ड पाउँदा नरमाइलो लाग्यो, त्यसपछि छोरालाई जस्तो काम परेपनि विद्यालय पठाएको छु ।” उनले माघ र फाल्गुनमा भने छोरालाई नियमित विद्यालय पठाएपछि ग्र्रिनकार्ड पाएको बताए ।
“हामीले विद्यालयमा छोराछोरी नपठाउने अविभावकहरुलाई तिन प्रकारको कार्ड दिन्छौँ”–अन्धनाशक आधारभुत विद्यालय ढाकाडामका प्रधानाध्यापक दिप बहादुर केसीले भने,–“८५ प्रतिशत भन्दा बढि हाजिर हुने विद्यार्थिका अविभावकलाई प्रशंसा पत्र भनेर ग्र्रिनकार्ड, ७० देखि ८५ प्रतिशत हाजिर हुने विद्यार्थिका अविभावकहरुलाई धन्यवाद ज्ञापन भनेर एलोकार्ड र ७० प्रतिशत भन्दा कम हाजिर हुने विद्यार्थिका अविभावकलाई ध्यानाकर्षण पत्र भनेर रेडकार्ड दिन्छौँ ।” उनले महिनाको अन्तिम दिन सवै हाजिरी हिसाव गरेर मासिक रुपमा कार्ड दिइने बताए ।
सेभ द चिल्डे«ेनसँगको साझेदारीमा स्थानिय गैर सरकारी संस्था दलित विकास समाज सल्यानको सहयोगमा जिल्लाका ४५ विद्यालयले अहिले यो अभियान शुरु गरेका छन् । कुमाख मालिका गाउँपालिकाका ९ र दार्मा गाउपालिकाका ३६ विद्यालयले यस्तो अभियान शुरु गरेका हुन ।
महिनाको अन्तिम दिन विद्यार्थिको हाजिरी रेकर्डको प्रतिशतको आधारमा अविभावकहरुलाई विद्यार्थिहरुसँग कार्ड पठाइन्छ ।
मंसिरदेखि शुरु गरिएको अभियानमा शैक्षिक सत्रको अन्तिम सम्ममा विद्यार्थिहरुको उपस्थितिमा समेत उल्लेख्य सुधार आएको देखिएको छ । पुसमा ४५ विद्यालयका ७ सय ३५ अविभावकले रेड कार्ड पाएकोमा चैत महिनामा घटेर ३ सय ५८ अविभावकहरुल मात्रै रेडकार्ड पाएका छन् । “यस अभियानले विद्यालयमा गतिलो छाप छोडेको छ”–जिल्ला शिक्षा कार्यालय अन्र्तरगत गोठिवन श्रोतकेन्द्रका श्रोतव्यक्ति जंग बहादुर बुढाले भने,–“धेरै विद्यालयले कक्षा ३ मात्र नभइ आगामी शैक्षिक सत्रदेखि पुरै विद्यालयमा अवलम्वन गर्ने जानकारी दिएका छन् ।” विद्यालयमा विद्यार्थिहरु नियमित हुन थालेपछि विद्यालयको पढाइमा समेत सुधार हुदै गैरहेको उनले दावी गरे ।
सेभ द चिल्ड्रेनकी जिल्ला कार्यक्रम संयोजक विमला सुवेदीले विद्यार्थीले सिक्नका लागी पहिलो सर्तमा नियमित विद्यालयमा हाजिर हुनुपर्ने भएकोले शेक्षिक सुधारको लागी यो अभियान थालिएको बताइन । उनले भनिन्–“विद्यालयमा अविभावकले ध्यान नदिदा शिक्षक मात्रैले शैक्षिक सुधार गर्न नसक्ने भएकोले अविभावक समेतलाई जिम्मेवार बनाउन यस्तो अभियान थालिएको हो ।”
जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यालयको हाजिरी परिक्षण गरेर अविभावकलाई कार्ड दिने अभियान राम्रो भएको भन्दै यसलाई जिल्लाभर लागु गर्नका लागी आफुहरु लागिपरेको जनाएको छ । जिल्ला शिक्षा कार्यालय सल्यानका श्रोत व्यक्ति लिलाधर ववालले प्रअ वैठक तथा श्रोतव्यक्ति वैठकमा यसलाई जिल्लाभरी कसरी लैजाने भन्नेबारेमा छलफल चलेको बताए । यसलाई आफुहरुले योजनावद्ध तरिकाले अघि बढाउने सोच बनाएको उनले बताए ।













प्रतिक्रिया