काठमाडौं, २८ चैत । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. ११ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधाभूत तालिम र सि.सं. २४१ हुल तथा दंगा व्यवस्थापन तालिमको चैत्र २८ गते सोहि महाविद्यालयमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो । त्यसअवसरमा उहाँले दुवै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा प्रशिक्षार्थीहरुले तालिममा सिकेको सैद्वान्तिक एवं व्यावहारीक तथा प्रचलित नियम कानून र मानव अधिकार सम्बन्धि ज्ञानलाई कार्यक्षेत्रमा उपयोग गर्दै संगठनको लक्ष्य प्राप्तीमा कृयाशिल रहनुपर्ने बताउनुभयो ।
पेशागत तालिम अपरिहार्य विषय हो भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले यस्ता तालिमले राष्ट्रसेवकहरुलाई सधैं शारीरिक एवं मानसिक रुपमा चुस्त, दुरुस्त र दक्ष बनाई राख्न अहम भूमीका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्षेत्रमा आइपर्न सक्ने प्रतिकुल अवस्थासँग मुकाविल गर्नसक्ने क्षमताको बिकास पेशागत प्रशिक्षणबाट हुने चर्चा गर्नुहुँदै उहाँले यस्ता तालिमले जस्तोसुकै विषम परिस्थितिमा पनि कर्तव्यपथमा अग्रसर रहिरहन अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले प्रचलित कानुनको परिधिभित्र रहेर मानव अधिकारको पूर्ण रुपमा संरक्षण गर्दै कार्यक्षत्रमा उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने चर्चा समेत गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा सुरक्षा चुनौतीहरुलाई मध्यनजर गर्दै कार्यक्षेत्रमा कूशलतापूर्वक दायित्व निर्वाह गर्न सक्षम जनशक्ति उत्पादनका लागि तालिमको अति नै महत्व हुने बताउनु हुँदै राज्यले सुम्पिएको दायित्व पुरा गर्दै समाजमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न सधैं कृयाशिल रहनुपर्ने उल्लेख गर्नुभयो ।
परिवर्तित समय सँगै सुरक्षा चुनौतीहरु पनि परिवर्तन हुने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले त्यस्ता चुनौतीको सामना गर्न सधैं पेशागत ज्ञानकासाथ तम्तयार रहनुपर्ने बताउनुभयो ।
सुरक्षाकर्मीले गरेको कार्यको मुल्यांकन जनताको प्रतिक्रियाबाट प्रतिविम्वित हुने उल्लेख गर्नुहुँदै उहाँले प्रशिक्षार्थीहरुले संगठनको साखलाई उच्च तुल्याउने गरी कार्यक्षेत्रमा दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो महाविद्यालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक वंशीराज दाहालले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षणको दौरानमा सिकाइएका ज्ञान शिपले प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा सफलता प्राप्त गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गत भदौ २६ गतेबाट सुरु भएको सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधाभूत तालिममा २७ जना प्रशिक्षार्थीहरु सहभागि रहेका थिए । प्रशिक्षार्थीहरु मध्ये सशस्त्र प्रहरी निरीक्षक अनिल थापा तालिममा सर्वप्रथम भएका छन् भने सशस्त्र प्रहरी निरीक्षक गणेशबहादुर थापा चादमारीतर्फ प्रथम भएका छन् । यसैगरी हुल तथा दंगा व्यवस्थापन तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर चन्द सर्वप्रथम भएका छन् । गत माघ १९ गतेबाट सुरु भएको उक्त तालिममा कूल ४६ जना प्रशिक्षार्थीहरु सहभागि थिए ।













प्रतिक्रिया