
काठमाडौं, २६ चैत । प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको कल्याणकारी कार्यक्रमहरुमा भूतपूर्व सैनिकहरुको हितलाई मध्यनजर गर्दै सैनिक आवासीय महाविद्यालयहरुको स्तरोन्नती गर्ने तयारी भइरहेको बताएका छन् । आज सुर्खेतमा भूतपूर्व सैनिक सम्मेलनको समापन गर्दै उनले सैनिक विद्यालयको स्तरोन्नती गरिने बताएका हुन् ।
उनले चितवन, धनगढी, सुर्खेत, पोखरा र धरानस्थित महाविद्यालयहरुमा अध्ययन गर्ने छात्राहरुको लागि छात्रावास र यातायातको सुविधा प्रदान गरिने बताए । साथै, सुर्खेत, धनगढी, चितवन र काठमाडौंस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयमा प्लस–२ सञ्चालन गर्ने योजना रहेको बताए ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा वीरेन्द्र अस्पताल, छाउनीमा भूतपूर्व सैनिक तथा परिवारका लागि बहिरंग विभागको निर्माण कार्य सम्पन्न भइरहेको उनले जानकारी दिए । उपत्यका बाहिर फिल्ड अस्पताल विस्तार गर्ने योजना अनुरुप पहिलो चरणमा नेपालगञ्जस्थित इमामनगर व्यारेक परिसरमा सर्भेको कार्य सम्पन्न भई निर्माण कार्य शुरु हुन लागेको समेत बताए ।
समापन समारोहमा बौल्दै प्रधान सेनापति क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्र हितको रक्षार्थ वीरगती प्राप्त गरेका सकलदर्जाको आत्माको चिरशान्तिको कामना गरे । उनले राज्य संकटमा पर्दा सेनाले बगाएको रगत पसिनाले देशको राष्ट्रिय अखण्डतामा आँच आउन नसकेको बताए । संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न भूतपूर्व सैनिकहरुले खेलेको अहम् भूमिकाप्रति प्रसंशा गरे ।
नेपालगञ्जस्थित राझा व्यारेकमा हिजोदेखि सुरु भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन आज सुर्खेतमा सम्पन्न भएको हो । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतको आठ वटा जिल्ला (दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा) का करिव एक हजार जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारको उपस्थिति रहेको थियो ।
त्यसैगरि, सम्मेलन दौरानमा चैत २३ गतेदेखि २५ गतेसम्म सुर्खेतमा निःशुल्क स्वास्थ्य शिविर पनि गरिएको थियो । जसमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करिव एक हजार दुई सय जनालाई स्वास्थ्य उपचार तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

त्यस्तै, नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण भएको थियो । अशक्त भूतपूर्व सैनिक, अशक्त परिवार र अशक्त गैर सैनिकहरुलाई व्हिल चियर वितरण गरिएको थियो । मध्यपश्चिम क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।
सम्मेलनकै क्रममा मध्यपश्चिम पृतना हेडक्वाटरअन्तर्गतका युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी ड्रिल तथा पीटी प्रदर्शन गरेका थिए । साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहनु भएका महिलाहरुले प्ले कार्ड सहितको मार्च पाष्ट तथा लङ्गमार्च प्रदर्शन गरेका थिए ।
कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत रथी चित्रबहादुर गुरुङ्गले स्वागत गरेको कार्यक्रममा भूतपूर्व सैनिकहरुको तर्फबाट रथी नेपाल भूषण चन्दले धन्यवाद मन्तव्य राख्नु भएको थियो । त्यसैगरी, बलाधिकृत रथी बलदेवराज महतले कार्यक्रम समापन गरेका थिए । कार्यक्रम पश्चात् प्रधान सेनापति क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी भएकाहरुसंग सामूहिक छलफल तथा अन्तरक्रिया समेत गरेका थिए ।
सम्मेलनमा क्षेत्रीय प्रशासक, नेपाली सेनाका रथीवृन्द, क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरु, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैह्र सरकारी कार्यालय÷सङ्घ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मीलगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।












प्रतिक्रिया