गुल्मी, २६ चैत । वैशाख ३१ गते स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा गुल्मी जिल्लामा पनि चुनावी चहलपहल बढेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपासहितका दलहरूले उम्मेदवारी दिने तयारीहरू गरिरका छन् ।
गुल्मीको मुसीकोट नगरपालिकाको प्रमुख र उपप्रमुखलाई लिएर कांग्रेसभित्र अलि धेरै राजनीतिक रस्कास्सी देखिएको छ । कांग्रेसका थुप्रै स्थानीय नेताहरू नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
उम्मेदवारीका विषयमा मुसीकोट नगरपालिकामा के भइरहेको छ भन्ने प्रश्नको जवाफमा स्थानीय युवा नेता कृष्णप्रसाद सापकोटा भन्छन्, ‘कांग्रेसले आन्तरिक तयारीहरू गरिरहेको छ । प्रमुख र उपप्रमुखका लागि दाबीहरू धेरैको छ । सहमतिमा उम्मेदवारी मिल्छ ।’ उनले भने, ‘म पनि मुसीकोट नगरपालिकको प्रमुखको लागि दाबेदार हुँ ।’
अर्लाङकोट गाविसका तत्कालीन उपाध्यक्षमा विजयी भएका सापकोटाले भने, ‘त्यति बेला पनि मैले उपाध्यक्ष भएर काम गरेको हुँ । अहिले मुसीकोट नगरपालिका भएपछि मेयरमा मेरो दाबेदारी छ ।’
तपाईभन्दा सिनियर नेताहरू पनि त होलान नि ? भन्ने प्रश्नमा उनले भने, ‘मभन्दा सिनियर नेताहरूलाई सम्मान गर्नुपर्छ । गुल्मी जिल्ला कार्यसमितिले सबैलाई व्यवस्थापन गर्नुपर्छ । यदि पार्टीभित्रको तालमेल मिलाउने बेला सहमति खोज्न म तयार छु । जिल्ला कार्यसमिति र केन्द्रीय नेताहरूले मलाई उपमेयरमा टिकट दिनुभयो भने पनि उम्मेदवारी दिन तयार छु ।’
नेपाल तरुण दलको केन्द्रीय विभागमा समेत रहेका काम गरिसकेका युवा नेता सापकोटा भन्छन्, ‘मुसीकोट नगरपालिकाले जुझारु नेतृत्व पाउनु पर्छ । त्यसका लागि मसहितको टिम उपयुक्त हुन सक्छ ।’
स्रोतका अनुसार पूर्व पार्टी सभापति सुरेशचन्द्र भुसाल, वर्तमान कार्यसमितिकी सचिव विष्णुकुमारी सापकोटा, हीरामणि अर्याल र नेपाल तरुण दलका नेता तथा अर्लाङकोट गाविसका तत्कालीन गाविस उपाध्यक्ष कृष्णप्रसाद सापकोटा मेयर पदका लागि इच्छुक छन् ।












प्रतिक्रिया