बेइजिङ, २४ चैत । तिब्बती धर्मगुरु दलाई लामाको भारतको अरुणाञ्चल भ्रमणबाट चीन रुष्ट बनेको छ । चीनले भारतले लामालाई भ्रमण गर्न दिएकोमा आपत्ति जनाउँदै यसबाट कसैलाई पनि फाइदा नहुने चेतावनी दिएको छ ।
चीनले भनेको छ, ‘भारतले यो भ्रमणमा स्वीकृति दिनु हुने थिएन र यसबाट भारतलाई कुनै फाइदा हुनेछैन ।’ ‘तिब्बती धर्मगुरुलाई भारत–चीन सीमाका विवादित क्षेत्र जाने स्वीकृति दिनुले दुवै देशबीचको सम्बन्धमा गम्भीर असर पुगाउनेछ’, चीनले भनेको छ ।
भारतले भने दलाई लामाको भ्रमण पूर्ण रुपमा धार्मिक भएको भन्दै बचाउ गर्दैै आएको छ । गृहराज्यमन्त्री किरण रिजिजुले ट्वीट गर्दै भनेका छन्, ‘भारत एक स्वतन्त्र लोकतान्त्रिक देश हो र धार्मिक नेतामाथि कुनै रोक लाग्दैन । म चीनसँग अपिल गर्दछु कि दलाई लामाको अरुणाञ्चल यात्रालाई राजनीतिक रुपमा नलिनुहोस् ।’
उनले अरुणाञ्चल विवादित प्रदेश नभएको पनि दाबी गरेका छन् । अरुणाञ्चल प्रदेशमा जनताहरु शान्ति प्रेमी भारतीय भएको भन्दै उनीहरुले असल सम्बन्ध चाहेको उल्लेख गरेका छन् । बुधबारबाट दलाई लामाको एक साता लामो अरुणाञ्चल प्रदेशको भ्रमण सुरु भएको छ । पूर्वी हिमालयमा रहेको यस इलाकामा चीनमाथि चीन ‘दक्षिणी तिब्बत’ का रुपमा आफ्नो दाबी गर्दै आएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिइङले पत्रकार सम्मेलन गर्दै दलाई लामाको भ्रमणलाई लिएर चीनले भारतसँग कडा आपत्ति जनाएको बताएकी छन् । उनले भनेकी छन्, ‘चीनको चिन्तालाई नजरअन्दाज गर्दै र यस यात्रालाई व्यवस्था गर्दै भारतले चीनको हित र दुवै देशको सम्बन्धमा गम्भीर रुपमा नोक्सान पुगाएको छ ।’
हुवा चुनिइङले भनिन्, ‘हामी माग गर्दछौं कि भारतले चीनको हितलाई नोक्सान पुगाउनका लागि दलाई लामालाई प्रयोग गर्न तत्काल बन्द गरोस् ।’ उता बोमडिला पुगेका दलाई लामाले पत्रकारसँग कुराकानी गर्दैै भनेका छन्, ‘म प्राचीन भारतको विचारको सन्देश हुँ र जहाँ जान्छु अहिंसा, धार्मिक शान्ति र धर्मनिरपेक्षताको कुरा गर्दछु ।’
दलाई लामाले चीनको आरोपको जवाफ दिँदै भारतले आफूलाई कहिल्यै पनि चीनका विरुद्ध प्रयोग नगरेको दाबी गरेका छन् । भारतमा दलाई लामाको यात्रा र सम्बन्धलाई लिएर चीन पटक पटक सशंकित बन्दै आएको छ । गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले दलाई लामासँग भेट गरेको विषयमा पनि चीनले कडा आपत्ति जनाएको थियो । – एजेन्सी













प्रतिक्रिया