काठमाडौं, २३ चैत । ललितपुर महानगरपालिकाको वडा नम्बर १५ का लागि नेपाली कांग्रेस वडा इकाइले वडा अध्यक्षका उम्मेदवारहरूको सिफारिस गरेको छ ।
कांग्रेसका क्रियाशील सदस्य र अगुवा नेताहरूको बुधबार बसेको बैठकले वडा अध्यक्षका लागि प्रवेश दाहालसहितका युवा नेताहरूको नाम सिफारिस गरेको हो ।
वडा नम्बर १५ का लागि कांग्रेसबाट दाहालका साथै मणिराज विष्ट, अम्बिका राई, आत्मराम बोगटी, शिव रानामगर र पुरुषोत्तम थापाको नाम कांग्रेस जिल्ला कार्यसमितिमा सिफारिस भएको स्रोतले जनाएको छ ।
कांग्रेसको १५ नम्वर वडा इकाइमा वडा अध्यक्षका लागि युवा नेता दाहाल प्रमुख दाबेदार मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने दाहालले भने, ‘वडा अध्यक्षका लागि धेरै नेताहरू आकंक्षी हुनुहुन्छ । मैले टिकट पाउनु पर्छ भन्ने दाबी छ ।’
नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्यले वडा अध्यक्षहरूको सिफारिस आएपछि छानविन र अध्ययन गरेर उपयुक्त उम्मेदवारलाई टिकट दिइने बताए ।
उनले भने, ‘अब केही दिनमा मेयर र उपमेयरको सिफारिस केन्द्रलाई सिफारिस गर्छौं । वडा अध्यक्ष र सदस्यहरूको स्थानीय स्तरबाट इकाइहरूले सिफारिस गरेपछि निर्णय गर्ने छौँ ।’












प्रतिक्रिया