बेइजिङ, २० चैत । चीन सरकारले शिन्जियांग प्रान्तमा इस्लामिक चरमपन्थीविरुद्ध अभियानका क्रममा विगर मुस्लिम समुदायमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।
नयाँ प्रतिबन्धका क्रममा ‘असामान्य’ रूपमा लामो दाह्री राख्न, सार्वजनिक स्थानमा बुर्का लगाएर मुख छोप्न र सरकारी टेलिभिजन च्यानल हेर्न नपाउनेलगायत रोक लगाएको हो । चीनका विगर मुसलमान सिन्जियांग प्रान्तमा बसोबास गर्दछन् । यो मुस्लिम समुदायमाथि चीन सरकारले विभेद गर्ने गरेको बेलाबेलामा आरोप लाग्ने गरेको छ ।
पछिल्ला केही वर्षमा सो प्रान्तमा केही हिंसात्मक संघर्ष भएका थिए । चीन सरकारले यस प्रकारका हिंसाका लागि चरमपन्थी र साम्प्रदायिक हिंसा फैलाउनेहरू जिम्मेवार रहेको बताउँदै आएको छ । यो प्रतिबन्ध यसअघि पनि शिन्जियांगमा लगाइएको थियो । तर, यस साताको अन्त्यसम्ममा यसले कानुनी मान्यता पाउनेछ ।
यो नियमअनुसार बसपार्क, विमानस्थलजस्ता स्थानमा काम गर्ने कर्मचारीले दाह्री पालेका र अनुहार छोप्ने गरी बुर्का लगाएका माथि रोक लगाउन सक्छन् । विगर टर्किस मुस्लिम समुदाय हो ।
शिन्जियांगमा उनीहरूको जनसंख्या ४५ प्रतिशत रहेको छ भने चिनियाँ हान समुदायको जनसंख्या ४० प्रतिशत रहेको छ । सो प्रान्तमा हान र विगर मुस्लिम समुदायमाथि बेलाबेलामा हिंसात्मक संघर्ष हुने गरेको छ ।
यसलाई रोक्न सरकारले मुस्लिम समुदायमाथि प्रतिबन्ध गर्ने तयारी गरेको हो । चीनको यो प्रतिबन्धबाट सो समुदाय सरकारी सेवासुविधा पाउनबाट समेत वञ्चित हुने देखिएको छ । – एजेन्सी













प्रतिक्रिया