६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री र मधेसी मोर्चाबीच बालुवाटारमा वार्ता हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । स्थानीय तहको निर्वाचन र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएका छन् ।

अपरान्ह तीन बजे प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेताहरूलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ । ‘तीन बजे प्रधानमन्त्रीले मधेसी मोर्चाका शीर्ष नेताहरूलाई बोलाउनु भएको छ । संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ’, स्रोतले भन्यो ।

सीमाङ्कनको विषय तत्कालका लागि थाँती राखेर संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने तयारीमा रहेका प्रधानमन्त्री दाहालले त्यस विषयमा मोर्चाको सहमतिका लागि बैठक बोलाएका हुन् ।

मधेसी मोर्चा भने सीमाङ्कनको विषय थाँती राखेर अरु विषयमा मात्रै संविधान संशोधन भयो भने अमान्य हुने चेतावनी दिँदै आएको छ ।

तर, मोर्चाका केही नेताहरूले क्षेत्राधिकारसहित शक्तिशाली आयोग बनाएर जाने हो भने स्थानीय तहको निर्वाचनमा सहभागी हुन सकिने बताउँदै आएका छन् ।

बैठकमा दोस्रो तहका नेताहरू आन्तरिक छलफलपछि तयार पारेको सहमतिको प्रस्तावमा पनि छलफल हुन सक्ने बुझिएको छ ।