जनकपुर, १७ चैत । स्थानीय निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेशको लहर चलेको छ ।
यसैक्रममा विहिबार धनुषामा सत्तारुढ नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद फर्मुद नदाफसहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
दुई नम्बर प्रदेशको धनुषामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलामा नदाफसहित माओबादी केन्द्रका केन्द्रीय सदस्य बलराम सुवेदी पनि पार्टी प्रवेश गरेका हुन् । उनीहरु माओवादीभित्र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका मधेशका विश्वास पात्र मानिन्थे ।
नवप्रवेशीलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले टिका तथा फुलमाला लगाएर स्वागत गरे ।

पार्टी प्रवेश गर्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्व सांसद फर्मुद नदाफले मधेसको सच्चा पार्टी एमालेको भएको र एमालेको नेतृत्वले मधेसको मात्रै होइन् देशकै मुहार फेरिने धारणा राखे । उनले भने– ‘विकास र परिवर्तन एमालेकै नेतृत्वमा सम्भव छ ।’

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य यदुवंश झाले मधेसी जनता एमाले आउन आतुर रहेको जानकारी दिँदै तराईमा एमाले पहिलो शक्ति बन्ने दाबी गरे । उनले भने– ‘अझै धेरै नेता कार्यकर्ता हाम्रो पार्टी आउनेवाला छन् । स्थानीय निर्वाचनमा एमाले पहिलो शक्ति बन्नेमा कुनै शंका छैन् ।’
उनले नवप्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताउँदै इमान्दारीका साथ पार्टीमा सक्रिय हुन आह्वान गरे ।












प्रतिक्रिया