२८ आश्विन २०८३, बुधबार

लन्डन आतंककारी आक्रमणमा पाँचको मृत्यु, ४० घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, १० चैत्र । गतः बुधबार राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ ।

बुधवार अपरान्ह (नेपाली समय अनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उपरोक्त आक्रमण र हताहतीका घटना भएको लन्डनका महानगरीय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । कत्र्तब्य पालनको क्रममा ४८ बर्षीय प्रहरी अधिकृत किथ पामरको सो आक्रमणको घटनामा परी मृत्यु भएको सहायक आयुक्त रोलेले समाचारदाताहरुलाई बताए ।

किथ पामरले बेलायती प्रहरीमा पन्ध्र बर्षसम्म सेवा पुर्याएका थिए । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् ।

आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिक रुपमा खुलासा गरिसकेको छैन । तर बेलायती प्रहरीलाई आक्रमणकारीको पहिचान भएको जनाइएको छ । प्रहरी अधिकृत पामरको हत्याको तत्कालै अन्य प्रहरीले सो आक्रमणकारीलाई गोली हानी घटनास्थलमै ढालिदिएका थिए ।

यसअघि, प्रत्यक्षदर्शीका अनुसार एकजना ब्यक्ति एउटा अति तीब्र गतिको कारमा एक्लै आई संसद् भवन परिसर बाहिरको वेस्टमिन्स्टर ब्रिजको फुटपाथमा गाडीलाई जबर्जस्ती चढाएर संसद् भवन भित्र घुस्न खोजेको र सो कारले ठक्कर दिई तीनजना प्रहरीहरुलाई ठहरै पार्नुका साथै सडकमा हिँडिरहेका कम्तीमा बीस जना पदयात्रीहरुलाई घाइते बनाएको थियो ।

फुटपाथमा उक्लिएपछि सो तीब्र गतिको कारको सन्तुलन बिग्रन गएर संसद् भवन – हाउस अफ कमन्स परिसर बाहिरको बार र पर्खालमा ठोक्किन पुगी उक्त कार दुर्घटनाग्रस्त भएको तर भित्र बस्ने चालकलाई केही पनि भएको थिएन ।

अकस्मात् उक्त चालक गाडीबाट बाहिर निस्केर लामो र धारिलो छुरा निकाली वरिपरि रहेका मानिसहरु उपर जथाभावी आक्रमण गर्न थाल्यो । आक्रमणकारीको पहिलो निसानामा प्रहरी अधिकृत किथ पामर पर्न पुगे, छुराको प्रहारबाट तत्कालै ढली उनले ज्यान गुमाउन पुगेका थिए ।
उक्त आक्रमणको घटनामा अरु कसैको संलग्नता छ छैन, यसबारे पत्तो लगाउन बेलायती प्रहरी सूक्ष्मरुपले अनुसन्धानरत रहेको जनाइएको छ । – एपी