काठमाडौं, ११ फागुन । पाकिस्तानका सेना प्रमुख कमर बाजवाले आफ्नो देशमा बढिरहेको आतंकवादमा भारतको हात रहेको दाबी गरेका छन् ।
पाकिस्तानी सशस्त्र बलको मिडिया विंगद्धारा जारी विज्ञप्तिमा बाजवाले भनेका छन्- ‘हामी भारतको व्यवहार राम्रोसँग जान्दछौं । हामीलाई सूचना छ कि कुनै न कुनै तरिकाबाट भारत पाकिस्तानभित्र आतंकवादलाई बढाउन सहयोग गरिरहेको छ ।’
बाजवाले भारतले सीमा रेखामा बारम्बार युद्धविरामको समेत उल्लंघन गर्दै आएको बताउँदै पाकिस्तानी सेनाले यसको कडा जवाफ दिने चेतावनी समेत दिए । भारतले योजनाबद्ध रुपमा नै युद्धविरामको उल्लंघन गर्ने गरेको र दोष पाकिस्तानमाथि लगाउने उनको दाबी छ ।
‘एकातर्फ भारतीय फौज काश्मिरका जनतामाथि गरिरहेको आफ्नो अत्याचार लुकाउन युद्धविरामको उल्लंघन गरेर विश्वको ध्यान भड्काइरहेको छ,’ सेना प्रमुख बाजवाले भने– ‘अर्काेतर्फ पाकिस्तानद्धारा आतंकवाद र चरमपन्थविरुद्ध उठाएको कदम असफल पार्नका लागि भारतले यो तरिका अपनाइरहेको छ ।’
पछिल्लो समय काश्मिर विवादले दुई देशबीच सम्बन्ध विग्रिएका बेला पाक सेना प्रमुखको कडा प्रतिक्रिया आएको हो ।














प्रतिक्रिया