काठमाडौँ, २९ माघ । बेलारुसको राजधानीमा भएको मिन्स्क सम्झौतापछि कायम युद्धविराम पछि पनि बेलाबखत विद्रोही र यूक्रेन सरकारबीच झडप भएका घटनालाई विश्वले सामान्यरुपमा लिएको भएपनि पछिल्लो समय अभदाइभकामा ३५ जनाको ज्यान जाने गरी भएको घटनाले विश्वको ध्यान फेरि एकपटक यूक्रेन र यूक्रेनी जनताप्रति आकृष्ट भएको छ ।
केही सर्वसाधारण यूक्रेनी नागरिक, विद्रोही र सेनाको समेत मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घ, यूरोपियन यूनियन (इयू), उत्तर एटलान्टिक सन्धि सङ्गठनलगायत विभिन्न मानवअधिकारवादी सङ्घसङ्गठन र विश्व समुदायबाट चासो व्यक्त गरिएको छ ।
यूक्रेन प्रशासनले रसिया पक्षधर विद्रोहीविरुद्ध सन् २०१४ देखि सङ्घर्ष गर्दै आएको छ र इयू र अमेरिकी प्रशासनसँग सुमधुर सम्वन्ध स्थापना गर्न चाहन्छ । सरकारले विद्रोहीलाई प्रत्यक्ष वा परोक्षरूपमा सैन्य सहयोग दिएर मस्कोले सघाएको आरोप लगाउँदै आएको छ ।
तर रसियाले भने विद्रोहीलाई आफ्नो सहयोग नभएको तर सव्यम्सेवक र जागिरबाट अवकाशप्राप्त पूर्वसैनिक आफ्नै चाहनामा द्वन्द्वग्रस्त क्षेत्रमा गई विद्रोहीलाई सघाएको हुनसक्ने प्रतिक्रिया दिँदै आफ्नो यूक्रेनी द्वन्द्वमा सम्लग्नता नरहेको बताउने गरेको छ । सन् २०१४ मा सुरु भएको यूक्रेनी द्वन्द्वमा अहिलेसम्म १० हजार यूक्रेनी नागरिकको मृत्यु भएको र मृतकमध्ये आधा जनसङ्ख्या निर्दोष सर्वसाधारण रहेका बताइन्छ । यसबाट मस्कोको पश्चिमा मुलुकसँगको सम्वन्धमा शीतयुद्धपछिको सवैभन्दा कमजोर देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनवीच अमेरिका र रसियावीच दशकौँदेखि असामान्य रहेको सम्वन्धलाई सुधार गर्ने भनी प्रसङ्ग चलिरहेका वेला यूक्रेनमा देखिएको अशान्तिले विश्वलाई त्रसित तुल्याएको हो । कुटनैतिकरूपमा चतुर पुटिनले कतै ट्रम्पको रसियालाई हेर्ने दृष्टिकोण चर्चामा आएजस्तो इमान्दार पहल भए नभएको परीक्षण गर्ने कडीका रूपमा यूक्रेनलाई प्रयोग गरिएको त होइन भन्ने कतिपयको धारणा रहेको छ ।
यूक्रेनी रसिया पक्षधर विद्रोही र सरकारी सेनावीच अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाली नेता पुटिनवीच फोनवार्ता भएको केही दिनपछि द्वन्द्व सुरु हुनुलाई यसै विषयसँग जोडेर हेर्ने गरिएको छ ।
सरकारले विद्रोही र बिद्रोहीले सरकारलाई पछिल्लो द्वन्द्व सुरु हुनुमा दोषी पुष्टि गर्ने प्रयास गरिरहेका छन् । दुवै पक्षले घटनामा दुई वर्ष पहिले भएको युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै ठूला खालका हतियारसमेतको प्रयोग गरेको भनी आरोप लगाए पनि द्वन्द्वविरामका समय युद्ध सुरुभएपछि हजारौ युक्रेनी नागरिक चिसोमा खुला आकाशमा रातदिन विताउनु पर्ने अवस्था पक्कै पनि सुखद होइन ।
द्वन्द्वले स्थानीय बस्तीमा रहेका संरचनाहरू भत्केका छन् जसका कारण उक्त क्षेत्रका बासिन्दा–२० डिग्री सेल्सीयसको चिसो तापक्रममा खानेपानी र विजुलीबत्ती विना जीवन गुजार्नुपर्ने अवस्था आएको छ ।
विद्रोहीको प्रभाव क्षेत्र (राजधानी) दोनेस्कबाट मात्र पाँच किलोमिटर टाढाको दुरीमा भएका घटनाले यसअघि थन्किएका करिब २५ हजार ठूला साना हतियारलाई फेरि हिंसाका लागि उत्प्रेरित त गर्ने होइन चिन्ताको विषय बनेको छ ।
सरकारी विकायद्वारा स्थानीय जनताको सेवाका लागि तातो सुप र टेण्टको व्यवस्था गरेको छ तर यसखालको सेवा पाएर जीवन कति दिन नै धानिन्छ र । टेण्टभित्र रहेका मानिसले सरकारसँग थप तथा प्रभावकारीपूर्ण सेवाका लागि याचना गर्ने गरेका स्थानीय सञ्चारमाध्यममा आएका खवरमा जनाइएको छ ।
टेन्टमा बसेकी एक वृद्धा लुडमिल्ला भोरोनिनाले आफ्नो वेदना पोख्दै भनिन्, “म सरकारद्वारा वितरण हुने सहयोग पाउन हरदम कोशिस गरेँ तर भीडमा सङ्घर्ष गरी लिन सक्ने मेरो अवस्था छैन र केही पाउन सकिरहेकी छैन । म जागिरे पनि छैन र मेरो पेन्सन पनि छैन यस अवस्थामा कति दिन यसरी जिवन बचाउन सकुला र ? मेरो सहयोगी छोरा तोप आक्रमणमा परी ज्यान गुमायो । मताइ कसले सहयोग गर्छ ?”
अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिन पहिले यूक्रेनी राष्ट्रपतिसँग फोनवार्ता गर्नुहुँदै यूक्रेनको रक्तपातपूर्ण हिंसा अन्त्यका लागि सक्दो सहयाग गर्ने बताउनुभएको छ ।
युक्रेनी राष्ट्रपति पोरोसेन्कोसँग राष्ट्रपति भएपछि भएको पहिलो टेलिफोन कुराकानीमा गत हप्ता ट्रम्पले यूक्रेनमा शान्ति स्थापनाका लागि रसियासहित सरोकारवालासँग पहल गर्ने आश्वासन दिनुभएको थियो । विद्रोहीसँगको पछिल्लो एक हप्ताको अन्तरालमा भएको झडपमा ३५ जनाको ज्यान गएपछि भएका कुराकानीपछि बेलारुसको राजधानी मिन्स्कमा रसियाली प्रतिनिधि, यूक्रेनी सरकारका प्रतिनिधि र विद्रोहीसमेतको उपस्थितिमा भएको सहमतिपछि हाललाई वातावरण केही शान्त भने भएको जस्तो देखिएको छ ।
गत बिहीबार पहिले तोप र रकेट आक्रमण जारी रहेकोमा मिन्स्क सहमतिपछि भने द्वन्द्वग्रस्त क्षेत्रमा हल्का राहत भएको पाइएको छ । तर यूक्रेनी जनतामा युद्धको भय भने कायम नै देखिन्छ ।
यसैवीच मानवीय सहयोग मामिला हेर्ने अन्तरराष्ट्रिय सङ्गठन (ओसिएचए)ले यूक्रेनमा सन् २०१६ मा भन्दा सन् २०१७ मानवीय सहयोगको याचना गर्ने नागरिकको सङ्ख्या सात लाख बढ्ने गत हप्ता जारी एक विज्ञप्तिमा जनाएको छ । अध्ययन अनुसार सन् २०१७ मा मानवीय सहयोगको याचना गर्ने यूक्रेनी करिब ३८ लाख पुग्ने देखिएको छ ।
संयुक्त राष्ट्रसङ्घले शुक्रबार एक विज्ञप्ति जारी गरी सरकारी सेना र यूक्रेन सरकारलाई आफ्ना निहत्था नागरिकलाई जोगाउन हरसम्भव उपाय अवलम्वन गर्न आग्रह गरिसकेका छ ।
संयुक्त राष्ट्रसङ्घले पूर्वी यूक्रेनमा मानवीय सहायता र मानव अधिकारको अवस्थाप्रति चिन्तित रहेको जनाउदै यसलाई यथासम्भव समाधान गर्न विज्ञप्तिमा आग्रह गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीले युक्रेनमा रसियाली निर्मम हस्तक्षेपको विरोध गर्नुभएको छ ।
तर रसियाली राष्ट्रपति पुटिनका प्रवक्ताले भने हेलीको भनाइलाई खण्डन गर्दै भन्नुभएको छ, मस्कोले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्, रसियाका अन्य सहकर्मी सङ्घसंस्था तथा राष्ट्रहरु, र अमेरिकी स्थायी प्रतिनिधिसँग पनि यूक्रेनका विषयमा आफ्ना अवधारणा व्यक्त गर्दै आएको छ ।
अमेरिकाले पनि रसिया विरुद्धको नाकाबन्धीलाई क्रेमलिन क्रिमिनियाली प्रायद्वीप र यूक्रेनबाट फिर्ता नहुदासम्म नहटाउने बताउदै आएको छ । तर किभ भने रसियाली राष्ट्रपतिसँगको अमेरिकी नेता ट्रम्पको असामान्य व्यवहारका कारण नाकावन्धी फुकुवा गरिदिनसक्ने भनी चिन्तित देखिन्छ । नाकावन्दी फुकुवा भएमा रसियाको छिमेकी मुलुकमा प्रभाव बढ्ने र यो उक्त क्षेत्रको सुरक्षाका दृष्टिकोणले असुरक्षित हुने पश्चिमा मुलुकसहित अमेरिकी प्रशासनको चासोको बिषय बनेको हो ।
नेटोका महासचिव जन्स स्टल्टनबर्गले रसियालाई यूक्रेन द्वन्द्व अन्त्य गर्न प्रभावकारी काम गर्न आग्रह गर्दै आउनुभएको छ । जनवरी २९–३१ सम्म भएको द्वन्द्वले पूर्वीयूक्रेनमा गर्ने विद्रोही तथा सरकार नियन्त्रित क्षेत्रका अग्रपङ्तीमा बसोबास गर्ने नागरिकको पानी, बिजुलीबत्ती र मानवीय संवेदनाका विषयमाथि प्रभावित तुल्याएको उहाँको भनाई छ ।
मिन्स्क सहमतिपछि द्वन्द्व प्रभावित क्षेत्रले राहत त महशुस गरेको छ तर द्वन्द्वका कारण परिवारका सदस्य गुमाएका आफन्तजनमा द्वन्द्वले छोडेको पिडामा मुलुक स्थायी शान्तिको बाटोमा अघि बढेमात्र मलम लाग्नसक्नेछ । रासस














प्रतिक्रिया