४ मंसिर २०८३, शुक्रबार

राष्ट्रपतिको जलपानमा किन गएनन् प्रचण्ड र देउवा ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आज आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएनन् ।

राष्ट्रपति भण्डारीले माघेसंक्रान्तिका अवसरमा शनिबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा जलपानको आयोजना गरेकी थिइन् ।

उक्त समारोहमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्ष शीर्ष नेतालाई आमन्त्रण गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएपछि प्रमुख दुई दलका अध्यक्ष प्रचण्ड र देउवा सहभागी भएनन् । अझ संवैधानिक निकायका प्रमुख समेत रहेका प्रधानमन्त्री प्रचण्ड त अनिवार्य उपस्थित हुनुपर्थ्यो तर, देखिएनन् ।

किन उपस्थित भएनन् देउवा र प्रचण्ड ?

प्रधानमन्त्री प्रचण्ड युएई जानुपर्ने भएकाले राष्ट्रपतिको जलपानमा उपस्थित हुन सकेनन् । प्रचण्ड शनिबार दिउँसो वर्ल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युएईको राजधानी अवुधावी प्रस्थान गरेका थिए ।

यता कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीको काममा उपत्यका बाहिर रहेकाले राष्ट्रपतिको जलपानमा सहभागी हुन सकेनन् । उनी अहिले पोखरामा छन् ।

को को सहभागी भए जलपानमा ?

राष्ट्रपतिको जलपान समारोहमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुखद्वय सुवास नेम्वाङ र दमननाथ ढुङ्गाना, मन्त्री तथा सांसदहरुको सहभागिता थियो ।

यस्तै नेकपा (माले)का महासचिव सिपी मैनाली, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी थिए । सो अवसरमा नेताहरुबीच अनौपचारिक छलफल भएको थियो ।