१३ कार्तिक २०८३, शुक्रबार

मिर्गौला तस्करीमा नयाँ शैलीको खुलासा, निशानामा बेरोजगार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । आर्थिक अभाव टार्न मिर्गौला बेच्ने भेटिन छाडेपछि तस्करहरूले बेरोजगार युवालाई फन्दामा पार्न थालेका छन् ।

बेरोजगार युवालाई जागिर दिने आश्वासन दिएर मिर्गौला तस्करीमा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेपछि निशानामा बेरोजगार पर्न थालेको खुलेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

भारतस्थित विभिन्न सहरमा जागिर लगाइदिने भन्दै बेरोजगार युवाहरूलाई झुक्याएर उनीहरूका मिर्गौला झिकेर बेच्ने तीनजनालाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

मिर्गाैला तस्करी गरेको आरोपमा पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने काभ्रे महादेवस्थान–७ का ४४ वर्षीय विकास भन्ने बिनुबहादुर तिमल्सिना, भक्तपुर कमलविनायक बस्ने दोलखा भीमेश्वर नगरपालिका–५ का ४७ वर्षीय प्रकाश बस्नेत र पोखरा कास्की दाङसिङ गाविस–५ का ३६ वर्षीय भीमप्रसाद न्यौपाने छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालका अनुसार उनीहरूमध्येका न्यौपानेले ग्राहकका रूपमा खोजेर ल्याएका दीपक नेपालीले आफ्नो मिर्गौला बेचिएको उजुरी प्रहरीमा गरेपछि मिर्गाैला तस्करीको नयाँ शैलीमाथि अनुसन्धान सुरु भएको थियो ।

एसएसपी खनालका अनुसार रोजगारी दिलाउने नाममा मिर्गौला बेचबिखनमा काभ्रेका तिमल्सिनासहित ६ जनाको समूह सक्रिय रहेकामा तीनजना पक्राउ परेका हुन् । अन्य तीनजना फरार छन् । तस्करीमा संलग्न गिरोहका नारायण नेपाली, अमृत गुरुङ र डिल्ली गुरुङ फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङको सामान्य चिया पसल छ ।

प्रहरीका अनुसार काठमाडौंमा विकास र प्रकाशले ग्राहक खोज्थे । भीम न्यौपानेसँग मिलेर उनीहरूले जागिरको प्रलोभनमा विभिन्न स्थानबाट व्यक्ति खोजेर काठमाडौं ल्याउने काम गर्दै आएका थिए । एसएसपी खनालका अनुसार सो समूहले ५ देखि ७ लाखसम्म लिएर मिर्गौला बेच्ने गरेको छ । ‘काभ्रेको गिरोह पक्राउ परेपछि मिर्गौला तस्करी निकै कम भएको थियो अहिले नयाँ तरिका अपनाउन थालेका रहेछन्,’ एसएसपी खनालले भने ।

यसअघि दलालहरू काभ्रेको होक्से, नुवाकोट, सिन्धुपाल्चोकलगायत ग्रामीण जिल्लामा गएर कम आय भएकालाई आर्थिक प्रलोभनमा पारी मिर्गौला तस्करी गर्दै आएका थिए । तीन वर्षअघि प्रहरीले त्यस्तो गिरोहका अधिकांश सदस्यलाई पक्राउ गरेपछि मिर्गौला तस्करी कम भएको थियो ।

यसरी भयो तस्करी

तस्करहरूले सुरुमा विभिन्न प्रलोभनमा पारी ल्याइएका व्यक्तिहरूलाई कामका लागि भन्दै स्वास्थ्य परीक्षण गर्ने र उनीहरूको रक्तसमूह पत्ता लगाउने गर्ने गर्थे ।

प्रहरीले दिएको जानकारीअनुसार गत साउनमा रोजगारीको सिलसिलामा गोरखा, मुचो–९ स्थायी घर भई रोजगारीका लागि पोखरामा बस्दै आएका १९ वर्षीय दीपक नेपालीलाई राम्रो जागिर लगाइदिने भन्दै काठमाडौं ल्याए । गौशालामा राखेर उनीहरूले तिमल्सिनासँग भेट गराए ।

सो भेटपछि तिमल्सिनाले पीडित नेपालीलाई भारत लगी बेहोस बनाई अस्पताल पु-याएर मिर्गौला झिके । होसमा आएपछि निज नेपालीलाई गुण्डाले चक्कु हानेकाले उपचार गर्न ल्याएको भनियो ।

केही दिन भारतमा राखेपछि तस्करहरूले बिरामी भएको भन्दै नेपालीलाई काठमाडौं फर्काइदिए । नेपाली घर फर्केपछि पुनः बिरामी परे ।

चितवन मेडिकल कलेजमा चेकजाँच गराउँदा बल्ल मिर्गौला नभएको पत्ता लाग्यो । प्रहरीले गरेको अनुसन्धानअनुसार उनीहरूले हालसम्म पाँचजनाभन्दा बढीको मिर्गौला झिकेर भारतमा बिक्री गरिसकेका छन् ।