
काठमाडौं, ४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले मोर्चा निर्वाचनको पक्षमा रहेको प्रस्ट पार्दै त्यसका लागि पहिला संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने अडान राखेका छन् ।
कांग्रेस, एमाले र नेकपा माआवादी केन्द्रका नेताहरू स्थानीय तहको निर्वाचन गर्ने सहमतिनजिक पुगेकै दिन (बुधबार) मोर्चाका नेताहरूले पहिला विधेयक परिमार्जनसहित पारित गर्नुपर्ने अडान दोहोराएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
संसदमा संसोधान विधेयक दर्तापछि दलहरूबीच संशोधन र निर्वाचन मिति कुन पहिला भन्ने विषयमा बहस सुरु भएको छ । संशोधन कि निर्वाचन मिति घोषणा भन्ने विषयमा प्रमुख दल ‘कुखुरा पहिला कि अन्डा ?’ भन्ने आहान शैलीमा उत्रिरहेका बेला मोर्चाले पनि सोही पंक्तिमा सरिक हुँदै बहसमा उत्रिएको हो ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख दललाई यथास्थितिवादीको संज्ञा दिँदै संविधान संशोधन नगरी निर्वाचन भए त्यसलाई बिथोल्ने चेतावनी दोहोराए ।
‘कांग्रेस र एमालेले संविधान संशोधन गरी राजनीतिक निकास दिन चाहेका छैनन्,’ यादवले भने, ‘यी दलले यथास्थितिमै निर्वाचन गरे हामी त्यसमा सहभागि हुँदैनौं र निर्वाचन बिथोल्छौं ।’ विगतमा तत्कालीन राजा ज्ञानेन्द्रले पनि निर्वाचन गराएको तर सफल हुन नसकेको तर्क गर्दै उनले मधेसी मोर्चाको सहभागिताविना हुने निर्वाचनको अवस्था त्यस्तै हुने दाबी गरे ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनविना कुनै पनि हालतमा निर्वाचनमा सहभागी नहुने अडान व्यक्त गरेका छन् । परिमार्जनसहित संविधान संशोधन नभए सरकारले गराउने निर्वाचन पनि जनताले बिथोल्ने उनले बताए ।














प्रतिक्रिया