काठमाडौं, १३ पुस । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो र महत्वपूर्ण खण्डका रूपमा रहेको सुन्दरीजल–सिन्धु खण्डको बुधबार ब्रेक थ्रु (सुन्दरीजलदेखि सिन्धुसम्मको खण्डको सुरुङ जोड्ने काम सम्पन्न) भएको छ ।
तीन खण्डमा विभाजन गरी थालिएको सुरुङ निर्माणअन्तर्गत सुन्दरीजल–सिन्धुको साढे नौ किलोमिटर सुरुङ खन्ने काम पूरा भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सो खण्ड खुल्नु सफलताको महत्वपूर्ण खुड्किलो भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए । ‘एउटा महत्वपूर्ण काम पूरा भएको छ,’ उनले भने ‘सुरुङको काम सकिएपछि अब भुइँमा कंक्रिट बिछ्याउने र गेट बनाउने काम गर्नेछौं,’ उनले भने । भट्टराईका अनुसार सो कार्य सम्पन्न गर्न अब धेरै समय लाग्दैन ।
काठमाडौं उपत्यकामा पानी वितरण गर्ने राष्ट्रिय गौरवको आयोजना सम्पन्न गरी आउँदो दसैंसम्म पानी वितरण गर्ने लक्ष्य राखिएको छ । कुल २७ किलोमिटर सुरुङ खन्नुपर्ने मेलम्ची खानेपानी आयोजनामा सिन्धु–ग्यालथुङ र ग्यालथुङ–अम्बाथान खण्डको काम भने पूरा हुन बाँकी छ । कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर निर्माण बाँकी छ ।
मेलम्चीको पानी तोकिएको समयभित्रै उपत्यकावासीका घरमा पु-याउन धमाधम सडक खन्दै पाइप बिछ्याउने काम द्रुत रूपमा अघि वढेको छ । कामका लागि २४सै घण्टा १ हजारभन्दा बढी मजदुर र सयभन्दा बढी प्राविधिक परिचालन छन् ।
‘राति खन्ने र पाइप राख्ने काम अत्यन्त कठिन हुँदाहुँदै पनि द्रुत रूपमा काम भइरहेको छ । यही गतिमा काम जारी रहे २०७४ भदौभित्र काम सम्पन्न हुने अपेक्षा छ,’ निर्देशक भट्टराईले भने । राष्ट्रिय गौरवको पहिलो प्राथमिकतामा रहेको मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्र पूरा गर्न सम्बन्धित सबै पक्ष लागेका छन् । आयोजनाका अनुसार पानी प्रशोधन केन्द्र निर्माणको काम करिब ९६ प्रतिशत भइसकेको छ । आयोजनाको बाँकी काम पाँच महिनामा सकिने आयोजनाको दाबी छ ।
सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची मुहानबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किलोमिटर लामो सुरुङ निर्माण गरी १७ करोड लिटर पानी उपत्यका ल्याउने आयोजनाको लक्ष्य छ । जसअनुसार चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भएको आयोजना प्रमुख भट्टराईले जानकारी दिए ।
आयोजनाको लागत २३ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ छ । जसमध्ये झन्डै ६० प्रतिशत खर्च भएको छ । आयोजनाको दोस्रो चरणका रूपमा याभी र लार्के खोलाबाट ३४ करोड लिटर पानी ल्याउन आवश्यक पहुँच मार्गको १० किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ । दोस्रो चरणका लागि मेलम्ची मुहानमाथि डाइभर्सन गर्न करिब ११ किलोमिटर लामो सुरुङ निर्माण गर्ने लक्ष्य राखिएको छ ।
एसियाली विकास बैंक (एडीबी) को आर्थिक तथा प्राविधिक सहयोगमा सो आयोजना निर्माण भएको हो । एडीबीले पछिल्लो कार्य प्रगतिलाई आधार मान्दा निर्धारित समयमा आयोजना सम्पन्न हुने सम्भावना बढ्दै गएको जनाएको छ । बैंकका नेपाल निर्देशक केनिची योकोयामाले विनाअवरोध काम भए उपत्यकावासले दसैंअगावै मेलम्चीको पानी प्रयोग गर्न पाउने वताए । यो अवधिमै उपत्यकाभित्र पानी वितरण प्रणालीको काम पनि सक्ने लक्ष्य राखिएको उनले बताए ।
२०५५ सालमा सुरु गरिएको आयोजना अझै सम्पन्न हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी चाइना रेल्वेले सन् २०१३ को सेप्टेम्बरसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर, उसले २५ सेप्टेम्बर २०१२ मा एकतर्फी रूपमा ठेक्का सम्झौता तोडेको थियो ।
त्यसलगत्तै सरकारले नयाँ टेन्डरबाट इटालियन को–अपरेटिभ मरातोरी एन्ड केमेस्टेस्टी (सीएमसी) र भारतको द राभेनालाई छनोट गरेको थियो । बाँकी काम सन् २०१५ भित्र सक्ने गरी सीएमसीले काम गरिरहेको भए पनि भूकम्प र नाकाबन्दीका कारण झन्डै एक वर्ष सुरुङ निर्माण कार्यमा अवरोध भएपछि समितिले म्याद थप गर्दै आएको छ ।














प्रतिक्रिया