काठमाडौं, १३ पुस । राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ । आजका पत्रपत्रिकाले समाचार छापेका छन् ।
यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।
‘अहिले हामी एन्ड्रोइड र आईओएस दुबै प्लेटफर्मका मोबाइलमा चल्ने एपको अन्तिम परीक्षणको क्रममा छौँ । यो एप जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यावसायिक रुपमा सञ्चालनमा रहेका अनलाइन फर्म भर्ने स्थानमा गएर एक सयरदुई सय तिरेर लाइनमा बसेर फाराम भर्ने परिपाटीको अन्त्य हुनेछ’ सूचना अधिकृत सुवेदीले भने ।
मोबाइल एपको प्रयोगमार्फत् आवेदनकर्ताले अनलाइन फाराम भरे जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् ।
‘मोबाइलबाट फराम भरेपछि आवेदनकर्ताले बारकोड नम्बर प्राप्त गर्छन् । उक्त बारकोडलाई स्क्रिन सट लिएर मोबाइलमा सेभ गर्ने, सेभ भएको बारकोडको फोटो लिएर विभागमा आउने व्यक्तिको फोटो र औँठा छाप लिने व्यवस्था मिलाएका छौँ’ सूचना अधिकृत सुवेदीले भने ।
यो मोबाइल एप एन्ड्रोइड मोबाइल र आईफोन तथा आईप्याड (आईओएस) अपरेटिङ् सिस्टम भएका मोबाइल डिभाइसमा प्रयोगकर्ताले प्लेस्टोर र एप स्टोरमा गएर प्राप्त गर्न सक्नेछन् ।
मोबाइलको प्लेस्टोर र एप स्टोरमा गएर ‘नेपाली पासपोर्ट’ सर्च गरेपछि विभागले राखेको एप देखिने छ, उक्त एप मोबाइलमा इन्स्टल गरेर ओपन गरेपछि राहदानीका लागि आवेदन फाराम भेटिने विभागले जनाएको छ ।
मोबाइलबाट राहदानीको आवेदन गर्नेले अनलाइन फाराममा आफ्नो सम्पूर्ण विवरण मोबाइलबाटै एपको प्रयोग गरेर भर्न सक्नेछन् ।
यसरी मोबाइलबाटै फाराम भरे लगत्तै आवेदनकर्तालाई विभागमा गएर औँठाछाप लगाउने, प्रत्यक्ष फोटो खिच्ने र हस्ताक्षर गर्नका लागि समय र बारकोड नम्बर प्राप्त हुनेछ ।
‘अनलाइन फाराम अरुले भरिदिने हुँदा कही कतै गल्ती भयो भने आवेदनकर्ताले खोई अरुले भरेको हो मैले भरेको होइन भन्ने जस्ता समस्या समाधान गर्ने र सूचना प्रविधिको प्रयोग मार्फत् छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले विभागले मोबाइल एपबाट फाराम भर्ने व्यवस्था मिलाएको हो’ सूचना अधिकृत सुवेदीले भने ।














प्रतिक्रिया