१२ कार्तिक २०८३, बिहिबार

सिन्धुली, उदयपुर र मकवानपुरलाई २ नम्बर प्रदेशमा मिसाउन एमालेको प्रस्ताव

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । मधेसी मोर्चाले मधेसका जिल्ला मात्रै रहने गरी दुई प्रदेश माग्दै आन्दोलन चर्काइरहेका बेला एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन गरेर दुई नम्बर प्रदेशमा पहाड र भित्री मधेसका जिल्ला मिसाइने बताएका छन् ।

पार्टी कार्यालयमा आयोजना गरिएको ‘मधेस : भ्रम र यथार्थ’ विषयक कार्यक्रममा उनले उपर्युक्त समयमा संविधान संशोधन गरेर तराईका जिल्ला मात्र रहेको दुई नम्बरमा पहाडका जिल्ला मिसाइने बताएका हुन् ।

सरकारले प्रदेश पाँचलाई टुक्राउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनको नेतृत्व गरिरहेको एमालेले सो प्रस्ताव टेबुल गर्न नदिन निरन्तर संसद् अवरोध गर्दै आएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

आन्दोलनलाई सशक्त बनाउने अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रममा सहभागी दुई नम्बर प्रदेशवासीले सिन्धुली, उदयपुर, मकवानपुरसहितका पहाडी एवं भित्री मधेसका जिल्लालाई दुई नम्बरमा समेट्नुपर्ने धारणा राखेपछि ओलीले ‘उचित समयमा संविधान संशोधन गरी पहाड र तराईसहितको प्रदेश निर्माण गरिने’ बताएका हुन् ।

कार्यक्रममा सहभागी मधेस मामिलाका जानकार र एमालेका मधेसी नेताबीच अध्यक्ष ओलीले समस्या समाधान हुने आशाले मात्र प्रदेश निर्माणको सहमति गर्दा तराईका जिल्ला मात्र रहने गरी एउटा प्रदेश बनाउन सहमति गरेर गल्ती भएको समेत बताए । ‘प्रदेशको सीमांकन गर्ने क्रममा अरू प्रदेशमध्ये धेरै बिग्रिएको प्रदेश २ हो, समस्या समाधान हुन्छ कि भनेर सहमति दिँदा हामीबाट त्यतिबेला गल्ती भएकै हो,’ ओलीले भने, ‘तर, हामी त्यतिबेला गरेको गल्ती सुधार्छौं, उपयुक्त समयमा त्यसलाई संशोधन गरिन्छ ।’

प्रदेश नम्वर ५ मा त्यहीबेला सच्याएर पहाड र तराईसहितको प्रदेश निर्माण गरेको बताउँदै उनले प्रदेश २ लाई पनि उपयुक्त समयमा विधिवत् तरिकाले नै संशोधन गरी सच्याइने बताए ।

ओलीले एमालेले जहिले पनि पहाड र तराईका जिल्ला मिलाएर प्रदेशको सीमांकन गर्नुपर्ने पक्षमा रहेको बताउँदै हाल तराई र पहाडलाई छुट्ट्याएर प्रदेश निर्माण गर्दै दुई अलग राष्ट्रियता कायम गर्न खोजिएको भन्दै आपत्तिसमेत जनाए । उनले प्रदेश नं. ५ र प्रदेश नं. २ मा तराईका मात्रै जिल्ला रहने गरी दुई छुट्टाछुट्टै प्रदेशको निर्माण गर्ने कांग्रेसको प्रस्तावमा एमाले सहमत भए पनि माओवादी र मधेसी मोर्चाले अस्वीकार गरेको उनको भनाइ छ ।

‘समस्या समाधान हुन्छ कि भनेर त्यतिबेला (प्रदेशमा सहमति गर्दा) कांग्रेसको प्रस्ताव मानेर अघि बढ््ने कुरा भयो, तर माओवादी र मधेसी मोर्चाले मान्दिएनन्, आज आएर उनीहरूले नै त्यही बेलाका कुरा गर्दै एमालेले किन नमानेको भन्ने कुरा भन्न मिल्दैन,’ ओलीले भने, ‘पुष्पकमल दाहालले हस्ताक्षर गरेर मलाई प्रधानमन्त्री बनाउनुभयो, अब उहिले आफैं सहीछाप गरेको कुरालाई किन नमानेको भन्न मिल्दैन ।’

अनुचित सम्झौताको कार्यान्वयन नै संविधान संशोधन भएकाले त्यसलाई पारित गराउन एमाले बाध्य नहुने उनले बताए । असंवैधानिक, राष्ट्र र जनताको हितविपरीत संशोधन प्रस्ताव रहेको बताउँदै उनले त्यसलाई फिर्ता गरी निर्वाचनको वातावरण मिलाउन सरकारसँग मागसमेत गरे ।

एमालेलाई मधेसविरोधी भएको आरोप र भ्रमलाई चिर्न डटेर लाग्न ओलीले मधेसी नेता एवं सांसदलाई निर्देशन दिए । ‘मधेसमा मारकाट गर्नेहरू मधेसका मसिहा हुने तर मधेसमा मारकाट नगर्ने र मधेसको विकास गर्ने एमाले कसरी मधेसविरोधी हुन्छ, यो कुरा तपाईंहरूले बुझाउनुहोस्,’ ओलीले भने ।

मधेसका हुलाकी राजमार्ग, सिँचाइ कार्यक्रम, २० हजार गरिबका लागि आवास, सदरमुकाममा रिङरोड, राजमार्गदेखि सदरमुकाम हुँदै सीमासम्म चार लेनको सडक निर्माणलगायतका योजना आफू प्रधानमन्त्री भएका बेला ल्याएको बताउँदै ओलीले मधेसको एक नम्बर मधेसवादी पार्टी एमाले भएको बताए । मूर्खहरूले मात्र एमाले मधेसविरोधी रहेको कुरा गर्ने गरेको बताउँदै उनले एमाले जहिले पनि अन्याय, अत्याचार, असमानताको विरोधमा लडिरहेको बताए ।

‘५५ वर्षदेखि म झापामा बसिरहेको छु’ ओलीले भने, ‘भारतबाट आएकाहरूले आउनेबित्तिकै नागरिकता लिए वा नलिए पनि उनीहरू मधेसी हुने तर आफ्नै देशको पहाडबाट मधेसमा गएकाहरू किन मधेसी हुन नसक्ने ?’ उनको प्रतिप्रश्न छ ।

कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले नेपालमा ‘मधेस’ नै नरहेको बताउदै ‘भित्री मधेस’ मात्रै रहेको बताउँदै उनले २०६३ को मधेस आन्दोलनबाट मात्र मधेस शब्दको उत्पत्ति भएको जिकिर गरे । त्यसैगरी, एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले मधेसी मोर्चालाई ‘विदेशबाट आयात गरिएको संगठन’ भनेका छन् ।

कार्यक्रममा बोल्दै एमाले भ्रातृ संगठन लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठले विगतमा पार्टी नेतृत्वबाट केही कमिकमजोरी भए पनि हाल त्यस्ता कमजोरी सच्चिँदै गएको बताए ।
एमाले सांसद रामचन्द्र साहले सरकारले दर्ता गराएको संशोधन प्रस्तावमा राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था ठीक भएको बताए । कहीँकतै कमजोर नभएको एमालेलाई एमाले नेता–कार्यकर्ताबाटै कमजोर बनाउन खोजिएको दाबीसमेत गरे ।

कार्यक्रममा एमाले नेता लालबाबु यादवले संघीयता भावनाअनुसार नभई आवश्यकताअनुसार निर्माण हुने भएकाले पहाड र मधेस मिलाएर प्रदेश निर्माण हुनुपर्ने बताए ।

मधेस विषयमा विद्यावारिधि गरेका डा. राजेश अहिराजले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मधेसी जनताको सरोकार प्रदेशको सीमांकन, राष्ट्रिय प्रतिनिधि सभामा प्रतिनिधित्व, नागरिकताजस्ता मुद्दासँग नरहेको बताए । मधेसी जनताले जहिले पनि शिक्षा, स्वास्थ्य, समानता, सहभागिता र रोजगारसँग सरोकार रहेकाले यी मुद्दा सम्बोधन गर्नमा एमाले अग्रमोर्चामा रहनुपर्ने उनले बताए ।

मधेसको सवालमा अरू पार्टीभन्दा एमाले बढी इमानदार रहेको बताउँदै डा. अहिराजले पार्टी नेतृत्वमा मधेसी मूलका नेता नहुनुले यस पार्टीले मधेस र मधेसीको कल्याण गर्दैन कि भन्ने शंका उब्जेकाले यसमा ध्यान दिन सुझावसमेत दिए । ‘मधेसबाट पाएको जनमतका आधार बाघजस्तो देखिनुपर्ने एमाले स्यालजस्तो र स्यालजस्तो देखिनुपर्ने पार्टी बाघजस्तो देखिनुले आफू आश्चर्यमा परेको छु,’ उनले टिप्पण्ी गरे । एमाले भ्रातृ संगठन युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य प्रदीप यादवले नागरिकतामा कडाइ गर्दै थ्रेसहोल्डको व्यवस्था गर्न पार्टीसँग माग गरे ।